जनजागरण पार्टी नेपालको केन्द्रीय स्थायी समिति पुनर्ताजगी भेला सम्पन्न

दिपक अधिकारी

असोज ४-५ मा काभ्रे जिल्लाको धुलिखेल भिलेज रिसोर्टमा जनजागरण पार्टीको केन्द्रीय स्थायी समिति पुनर्ताजगी भेला सम्पन्न भएको छ ।

केन्द्रीय उपाध्यक्ष तथा युवा विभाग संयोजक द्वारिका श्रेष्ठले “साथीसँग आफ्ना कुरा” नामक रोचक सृजनात्मक खेलद्वारा अइसब्रेक गराउँदै, एक मित्रले अर्कोको बारेमा केही मिनेटभित्रमा बुझेर एकअर्काको परिचय गराउने कार्यक्रमद्वारा भेला सुरु भएको थियो ।

महासचिव रोशन खतिवडाले भेला कार्यकमको उद्देश्यका बारेमा अभिमुखिकरण गराउनुभएको थियो । त्यसपछि, साँझको खानापछि प्रत्येक सहभागीले १० १५ मिनेट समय लिएर आफ्नो परिचय साथै पार्टीमा भूमिका र योगदान साथै अपेक्षा वा लक्ष्यका बारेमा बताउने कार्यक्रम रहेको थियो ।

दोस्रो दिनका सेसनहरूमा बिहानको समयमा पार्टी अध्यक्ष डा. बिपी खनालबाट “पार्टी के किन र कसरी” भन्ने शीर्षकमा पार्टीको परिकल्पना, लक्ष्य, कार्यक्रमका बारेमा प्रशिक्षण दिनुभयो भने महासचिव खतिवडाले शून्य समयमा “हामी र देश शीर्षक” मा देशको वर्तमान अवस्था र त्यसमा एक राजनीतिक दल र शक्तिको रूपमा कसरी योगदान र हस्तक्षेप गर्ने भन्ने बारेमा प्रस्तुति दिनुभयो । साथै उक्त सेसनमा पार्टीको राजनीतिक चरित्र वा कित्ताकाटका सन्दर्भमा व्यापक छलफल पार्टी अतिवादी सिद्धान्तमा नलाग्ने, तर सम्वर्धनवाद र सम्विधानवादको मर्मअनुसार नागरिक स्वतन्त्रता र सम्प्रभुता, उदारवादी लोकतन्त्रको पक्षमा दृढ भएर उभिने निर्णय गरियो ।

दिउँसोको समयमा राष्ट्रिय स्वयंसेवक अभियान, देशले सामना गरिरहेका ५ वटा समस्या, तिनको सम्बोधनका उपाय तथा स्वयंसेवा अभियानका बारेमा अभियान संयोजक तथा पार्टीका सहअध्यक्ष सुनिल महर्जनले प्रस्तुति दिनुभयो ।

लगत्तैपछि पार्टी प्रवक्ता विदुर अधिकारीले “वाद विचार विकास” शीर्षकमा निश्चित राजनीतिक वाद सिद्धान्तको महत्त्व, विकासका क्रममा मानवीय जीवन र स्वतन्त्रताको मूल्य विषयमा प्रस्तुति दिँदै, विकासका लागि व्यक्तिको जीवन र स्वतन्त्रताको बलिदानको इतिहासले न त विकास न त स्वतन्त्रता नै बचेको स्पष्ट पार्दै बहुलवाद र सम्वर्धनवाद नै उपयुक्त हुने दाबी गर्नुभयो ।

उपाध्यक्ष द्वारिका श्रेष्ठले “राष्ट्र निर्माणमा ऐक्यपहल” (Synergy for Nation Building) शीर्षकमा अन्तरक्रिया तथा खेलको माध्यमद्वारा प्रस्तुति दिँदै सहकार्य र सफलताका लागि सूत्रहरू उद्घाटन गर्नुभयो ।

पार्टीको केन्द्रीय समितिको अयोजना तथा सचिवालयको संयोजनमा सम्पन्न उक्त भेलाले पदाधिकारीहरूको आपसी परिचय र बुझाबुझ कार्यक्रमदेखि पार्टीको मार्गनिर्देशक सिद्धान्त, संगठन विस्तार र सशक्तिकरण, चुनावी रणनीति र तालमेल लगायत विषयमा समेत छलफल र प्रस्तुति भएका थिए ।

उक्त भेलाले विभिन्न थप विभाग तथा जनवर्गीय संगठनहरूसमेत गठन गरेको छ ।

समग्रमा उक्त भेलाले समूह निर्माण, आपसी चिनजान र लयात्मकता तथा विचार दर्शनका बारेमा अझै स्पष्ट हुन सबैलाई सहायता र उत्साह मिलेको कुरा सहभागीहरूले बताउनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button