अतिबाढीग्रस्त क्षेत्रका किसानलाई भने धान बाली भित्र्याउन हम्मेहम्मे परेको छ

असार 7 सुदूरपश्चिम प्रदेश

विभिन्न क्षेत्रमा धान रोपाइँ चलिरहँदा कैलाली जिल्लाको अतिबाढीग्रस्त क्षेत्रका किसानलाई भने धान बाली भित्र्याउन हम्मेहम्मे परेको छ ।

बर्सेनि आउने बाढीका कारण बर्खे धान खेती छोडेर चैते धान खेतीतर्फ उन्मुख भएका किसानलाई यो वर्ष भने बाली भित्र्याउन निकै सकस भएको छ ।

भजनी नगरपालिका–३ कन्हैयापुरकी स्थानीय आरती चौधरीले आफूहरूले १५ कठ्ठा जग्गामा गरेको चैते धान भित्र्याउन व्यस्त भएको बताइन् । कोरोना महामारीपछि सरकारले शुरू गरेको लकडाउनसँगै धान रोप्न शुरू गरेको बताउँदै उनी भन्छिन्, ‘बर्खे धान नभएपछि चैते धान रोप्छौं तर चैते धानमा पनि हात धुनुपर्ने अवस्था छ । धान पाकिसक्यो । पाकेकै धान डुबेको छ । पाकेको धान काट्न पाएनौं भने भोकमरीले मरिने निश्चित छ ।’

भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीका अनुसार भजनी नगरपालिका क्षेत्रमा मात्रै करीब १ हजार बिघा बढी क्षेत्रफलमा चैते धान खेती गरिन्छ । कैलालीको टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिकाको केही क्षेत्रमा पनि चैते धान खेती गरिन्छ । जिल्लाको बाढी प्रभावित क्षेत्रको रुपमा चिनिने सो क्षेत्रमा बर्खे धान खेती डुबानमा पर्ने समस्याका कारण चैते धान खेती हुँदै आएको छ ।

किसान आरती चौधरीले भनिन्, ‘पाकेको धान डुबेको छ । खेतमै सड्न थालेको छ । जुन खानलाई राम्रो हुँदैन तर पशुहरूलाई खुवाउनलाई भएपनि काट्दैछौं ।’

स्थानीय किसानले पाकेको धान काटेर खेतबाट अग्लो जमिनमा खटिया प्रयोग गरेर बोकेर थ्रेसिङ गर्दै आएका छन् । हुलाकी राजमार्गमा धान बोकेर किसानले थ्रेसिङ गर्दै आएका आरती बताउँछिन् ।

चैते धानखेती भजनी नगरपालिकाको वडा नं १, २, ३, ५, ६, ७ र ८ मा हुँदै आएको छ । सो क्षेत्रमा खाद्यान्नको प्रमुख आधार चैतेधान खेती हो तर चालू वर्ष आधा धान खेतमै रहेको भजनी नगरपालिका–३ मोहनपुरका किसान गंगा चौधरीले बताए ।

तर जुन किसानले बर्खाभन्दा पहिले धान भित्रियाए, उनीहरूले राम्रो फाइदा लिएको पनि बताइएको छ । धान उत्पादन राम्रो भएको बताउँदै गंगा चौधरीले बजार मूल्य पनि राम्रै पाएकोमा खुशी व्यक्त गरे । उनका अनुसार सुकेको धानप्रति क्वीन्टल २ हजार ६०० रुपैयाँ र काँचो धान प्रतिक्वीन्टल २ हजार २०० रुपैयाँमा खरिद बिक्री हुँदै आएको छ ।

जिल्लाको दक्षिण पूर्वी भजनी नगरपालिका बाढीको उच्च जोखिम क्षेत्र हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button