गजलकाे ईतिहास र समीक्षा

मोतिराम चौधरी/कैलाली

थारू गजलको इतिहास र समीक्षा

पाहिलो गजल संग्रह निकाल्ने पहिलो थारू गजलकार जोखन रत्गैया हुन । उहाँको गजल संग्रह “छोराइल मन” (२०५७) कैलालीबाट प्रकाशित छ । अन्य गजल संग्रहमा भुवन चौधरीको “आछत” २०६१ बैशाख र लक्की चौधरीको “सहिदान” २०६१ जेठ, छविलाल कोपिलाको “भौगर” भदौमा “कहिले फुल्छ उ” बाल गजल संग्रह जुन दुवै नेपाली र थारु भाषामा छ र उहाँकै “छित्रल अक्षर” गजल संग्रह २०६३ प्रकाशित छ । गुर्वावा प्रकाशन प्रालिको अग्रासन मासिकले (२०६२ पुर्णाङ ७) लाई गजल विशेषांकको रुपमा “कैह्देउ गुर्वावा संग्रह” प्रकाशित भयो। जसमा कृष्णराज सर्वहारी, सोम डेमनदौरा, नरेश लाल कुशुम्या, राजकुमार कुसुम्या, नारायण चौधरी, शेखर दहितको दस-दस थान बेशी गजल छन ।२०६६ सालमा लाहुराम चौधरी “जहर”को “फुलरिया”, २०६८ सालमा सागर कुश्मी “संगत” को “हस्ताक्षर” र “फुटल पोक्री” प्रकाशित छन। खुशी राम उमंग चौधरीको “विक्षिप्त मुटु” २०६९ गजल संग्रहको ५२ थान गजलमा १२ थान मात्र थारु भाषाको छन, बाँकी नेपाली भाषामा छन। मोती राम चौधरी “रत्न” को “मनके बोझा” २०७०, रामचरण चौधरी “एकल यात्री”को “मोर टुतल झोपरी”, चन्द्र प्रसाद चौधरीको “गजल माला” अशोक चौधरीको “मनके आवाज” २०७० प्रकाशित छन । २०७१/२०७२ सालमा गजलको धेरै कृति प्रकाशन भयो । २०७१ सालमा सोम डेमनदौराको सम्पादनमा “डिउली” तुलाराम सनमको सम्पादनमा “जेउनास” संयुक्त गजल संग्रहमा १९ जना गजलकारहरुको १०/१० वटा गजलहरु थियो जुन प्रवासबाट प्रकाशित पहिलो थारु कृति हो र रविना चौधरी “रब्बु” को “ओरी” जुन थारु महिला स्रस्टाको पहिलो गजल संग्रह हो । २०७२ मा कृष्णराज सर्वहारी, सोम डेमनदौराको सम्पादनमा “पस्नक पन्हुवा” संयुक्त गजल संग्रह जसमा २१ जना गजलकारहरुको गजलहरु थियो र थारु निश्चलको “परगोह्नी” र पुनाराम चौधरीको “अँख्वा” गजल संग्रह प्रकाशित छन । २०७३ साल जेठमा साउदी अरेवियाबाट दाङका स्रस्टा बुध्धीराम चौधरीको “चिन्हारी” तथा मलेसियामा रहेका अर्का दाङका स्रस्टा एम के कुशुम्याको “मैगर बौछार” प्रकाशित भयो। २०७५ चैत्रमा ६ जना स्रष्टाहरुको संयुक्त गजल संग्रह “तेम्ह्री” मोती रत्नको सम्पादनमा प्रकाशित भयो जसमा निर्मल चौधरी “अन्जान यात्री” सन्देश दहित, दिनेश चौधरी, दुर्जन चौधरी, एच एम परिश्रमीको गजलहरु प्रकाशित भयो । २०७७ मा मोती राम चौधरी “रत्न”को “उद्गार” गजल संग्रह प्रकाशित भयो।

समिक्षा: थारु गजलमा नेपाली भाषाको प्रभाव

थारु भाषामा आधा दशक यता युवा साहित्यकारहरुले गजल विधा भित्र्याएका छन् तर गजल लेख्ने आधार नेपाली भएकोले रदिफ, काफिया मिलाउन जबरजस्ती नेपाली शब्द अप्ठ्यारो ढंगले पस्किदै छन । आछट गजल संग्रहमा गजलकार भुवनको यी पङ्क्ति हेरौ,

खन-खन कर्ना कन्चन पानीम लाल रकट छर्ना काजे

सुन्दर शान्त नेपाली माटीम अशान्तिक राह बर्ना काजे

छरेको शब्द प्रयोग भएको छ जब की थारु भाषामा छिट्ना, बोइना भनिन्छ

अर्का गजलकार छविलाल कोपिलाको “भौगर” गजल संग्रहमा संग्रहित गजल हेरौ

खै का बोलु बोल्ना मुह बन्द बा कि

भाव खुल्ना परिवेश फेन मन्द बा कि

यहाँ बन्द “संग” छन्द मिलाउन “मन्द” प्रयोग भएको देखिन्छ र नेपाली शब्द “भाव, परिवेश” देखिन्छ ।

त्यस्तै अर्का गजलकार लक्की चौधरीको “सहिदान” गजल संग्रहमा संग्रहित गजल हेरौ

अप्ने खोट रती-रती चोखा माया देलो काहे

महिनहे पर्खाके अप्ने मजा लेलो काहे ?

प्रस्तुत गजलको शेरमा “चोखा माया” नेपाली शब्द जसको थारु अर्थ “लिरोठे मैयाँ” र “पर्खिनु” जसलाई “पर्खाके” प्रयोग गरि थारुकरण गर्न खोजिएको छ । “पर्खिनु” लाई थारु भाषामा “अस्रा लग्ना” भनिन्छ।

यसरी रदिफ, काफिया मिलाउने निहुँमा थारु गजलकारहरु थारु भाषालाई कृतिम बनाइरहेको देखिन्छ ।

त्यस्तै अर्का गजलकार अंकर अन्जान यात्रीको “पस्नक पन्ह्वा” संयुक्त गजल संग्रहमा संग्रहित गजल हेरौ

गजल ३ (पन्ना ३४)

प्यार भरल मैयक नाट टोर्क आज गैल निष्ठुरी

छाती भित्तर रहल मुटु चोर्ख आज गैल निष्ठुरी

ओरे जहनसे सम्बन्ध जोर्ख आज गैल निष्ठुरी

प्रस्तुत गजलको शेरमा “सम्बन्ध” नेपाली शब्द जसको थारु अर्थ “नाँट” र “जोड्नु” जसलाई “जोर्ख”, “तोड्नु” जसलाई “टोर्क” प्रयोग गरि थारुकरण गर्न खोजिएको छ । “तोड्नु” लाई थारु भाषामा “टुर्ना” भनिन्छ।

त्यस्तै अर्का गजलकार रबिना रब्बुको “ओँरी” गजल संग्रहमा संग्रहित गजल हेरौ

गजल ४५ (पन्ना ४५)

टु परलो महंगा अकबरी सुन, मै किने नै सेक्नु

टोहार मैँयक पनुवाँ दारल डेलुवा, मै किने नै सेक्नु

गजल १ (पन्ना १

गजल टे मनके भित्तरसे, निकरल भाब हो कथैं,

बिडम्बना कोइ यहाँ, करटि बटै यकर फे चोरी

प्रस्तुत गजलको शेरमा “सुन” नेपाली शब्द जसको थारु अर्थ “सोन” “बिडम्बना” नेपाली शब्द प्रयोग गरिएको छ जसलाई थारुमा “दु:ख लक्तिक” भनिन्छ ।

यसरी रदिफ, काफिया मिलाउने निहुँमा थारु गजलकारहरु थारु भाषालाई कृतिम बनाइरहेको देखिन्छ ।

निष्कर्ष

राजा–महाराजाहरू तथा उच्चवर्गका व्यक्तिहरूका दरबारमा मात्र सीमित गजल साहित्य आजको विश्व साहित्याकाशमा एउटा सशक्त र बेजोड प्रस्तुतिको विधा बनेको छ । थारू गजल बिधा भित्रिएको एक २ दशक पुगीसक्यो त अझै माया र प्रेमका गजलहरु मात्र समाजिक संजाल भरीराख्नु एकदमै दुःख लाग्दो छ । थारु भाषाको उखान-टुक्का, लोकगीतको सामान्य अंस मात्र अध्धयन गर्यो भने गजबको थारु भाषामा गजल लेख्न सकिन्छ तर त्यस तर्फ गजलकारहरुको ध्यान जानु जरुरी छ ।

सन्दर्भ सामग्री

परिश्रमी: गजल सौन्दर्य मिमांसा, २०६४

रावल, नेपाली गजल विगत र वर्तमान, २०६४, पृ.१५

बराल, गजल ः सिद्धान्त र परम्परा २०६४

बराल, प्रतिनिधि नेपाली गजल ः २०५७, पृ. क

नेपाल, नेपाली गजल विगत र वर्तमान, २०६४ ः पृ.३१

कृष्णराज सर्बहारी. थारू साहित्यको इतिहास, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौ २०७३।

कृष्णराज सर्बहारी.सोम डेमनडौरा पस्नक् पन्ह्वा जन्ग्रार साहित्यिक बखेरी २०७२

रबिना चौधरी ‘रब्बु’ ओँरी गजल संग्रह, २०७१

Please follow and like us:
error0
fb-share-icon15
Tweet 20
fb-share-icon20

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button