हार्डवेयर व्यापारी बाबु छोरा पक्राउ, , अनुसन्धान जारी

धरान : राजश्व छली गरेको आरोपमा धरान १२ महेन्द्र पथमा रहेको राम निवासका हार्डवेयर पसलका बाबु छोरा पक्राउ परेका छन् ।

करोडौँ रुपैयाँको कारोबार गरे बापत राजश्व सम्बन्धी कागजपत्र देखाउन नसकेपछि राजश्व अनुसन्धान कार्यालय इटहरीले पुस १७ गते राम निवासमा छापा मारेको थियो ।

राम निवासमा राजश्व छली भएको सूचना पाएर आएको राजश्व अनुसन्धान कार्यालय इटहरीलाई आवश्यक कागज, विल विजक देखाउन नसकेपछि हार्डवेयर सिल गरिनुका साथै सोही दिन बाबु छोरालाई नियन्त्रणमा लिइएर इटहरी लगिएको खुलेको छ ।

राजश्व कार्यालयबाट आएको टोलीले छापा मार्दा राम निवास भवन भित्रको ग्लोबल इम्पेक्सका सञ्चालक किसन अग्रवाल र एसएन इन्टरनेशनल प्रालिका सञ्चालक अग्रिम खेतान अग्रवालले कागजपत्र देखाउन नसकेकाले कर छली गरेको आरोपमा बाबु छोरालाई नियन्त्रणमा लिएको राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख दीपक खडकाले बताए ।

यहाँ पक्राउ परेका बाबु छोरालाई जमानीमा विभागमा पठाइएको थियो । उता राजश्व अनुसन्धान विभाग हरिहर भवनले उतै पक्राउ पुर्जी जारी गरी पक्राउ गरिएको प्रमुख खडकाले बताए ।

किसन अग्रवाल बाबु हुन् भने अग्रिम छोरा हुन् । अग्रवाल बाबुछोराको कम्पनी ग्लोबल इम्पेक्स र एसएन इन्टरनेश्नलले खरिद बिक्री गर्दा राजश्व छली गरेको सूचना पाएपछि छापा मारेको र आवश्यक कागजपत्र माग्दा नदिएपछि करिब ७ घण्टा लगाएर खोजी गर्दा पनि नपाएकाले पसल र गोदाम सिल गरिएको थियो ।

अग्रवाल बाबु छोराको दुई कम्पनीले नेपाल खानेपानी संस्थान धरान शाखा अन्तर्गत खानेपानी पाइप र मिटर बिक्री वितरणमा एकाधिकार जमाएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button