येशूमा जीवन
मेरो नाम बिष्णु अवस्थी हो । मेरो जन्म वि.सं. २०३८ सालमा बैतडी जिल्लाको शिलंगा (पाटन) मा भएको हो । हाम्रो पारिवारिक बाहुन पेशा भएकोले म पनि सानै देखि परम्परागत धार्मिक कृयाकलापमा संलग्न रहन्थे । म सानो छँदा देखि नै (तीन दशक भन्दा पनि लामो समय) बुवा विरामी हुनुहुन्थ्यो जुन म र मेरो परिवारको लागि सबैभन्दा दुःखद र चिन्ताको कुरो थियो । उहाँको चँगाइको लागि हामीले अनेकौं देवीदेवताको पूजापाठ र सक्दो धर्मकर्म ग–यौं तर उहाँलाई निको नभएपछि मेरो मनमा प्रश्न नै रह्यो, अनि अशान्ति; र जीवनमा नैराश्यता, अन्धकार, रित्तोपना, एक्लोपना थियो । म आदर्श र असल व्यक्ति हुन चाहन्थेँ, पढाइ ठिकै थियो तर शान्ति, कुनै आशा, सफलता र खुशी भने केही थिएन । म साँचो ईश्वर र साँचो शान्तिको खोजीमा थिए ।
मेरो दस कक्षाको पढाइपछि मेरो जीवनमा नयाँ मोड आयो । मैले मामाबाट प्रभु येशूको बारेमा सुने जुन मेरो लागि अति महत्वपूर्ण दिन थियो किनकि यो आशाको सन्देश थियो; यसमा उहाँको ठूलो अनुग्रह थियो । यसपछि जीवनमा केही आशा, अनि शान्ति र प्रेमको महसुस हुन थाल्यो । बाइबल अध्ययन गर्दै र संगति जाँदै गरे । मलाई पक्का भयो कि प्रभु येशू ख्रिष्ट नै एक मात्र ईश्वर हुनुहुन्छ, मूर्तिहरु त मानिसले नै बनाउँछन्, जसमा जीवन नै हुँदैन । मैले प्रभु येशूमा विश्वास गरे र पानीको बप्तिस्मा पनि लिए । म जसै जसै बाइबल अध्ययन गर्दै, संगति जाँदै गरे मलाई पाप, दुष्टता, खराबी, परीक्षा, लोभ, आत्मिक संघर्ष, न्याय, मृत्यु आदि बारे अझ ज्ञात भयो । शुरुमा म आफूलाई अरुभन्दा धर्मी छु जस्तो लाग्थ्यो तर पछि स्वर्गका परमेश्वर, जसले सबै कुरा सृष्टि गर्नुभयो, उहाँको दृष्टिमा पापी रहेछु भन्ने थाहा गरे । मैले आफूमा कुनै पनि असल कुरा रहेनछ भनि स्वीकार गरे । आत्मिकी संघर्ष हुँदैरह्यो । यी सबै कुराका लागि मैले गहिरो पश्चात्ताप गरे । मलाई यस्तो लाग्यो कि शायद अब म मर्छु, त्यो भन्दा पनि बढी जस्तो कि मेरो नजिकै नरक छ । तथापी प्रभु येशूमा नै मेरो आशा र विश्वास थियो किनभने उहाँ हाम्रो उद्धारक र हाम्रो धार्मिकता हुनुहुन्छ, हामो योग्यता त माथिबाट नै आउँछ । मेलै निरन्तर परमप्रभुको खोजी गर्दै रहे।
सन् २०१८ को मार्च १ तारिख मेरो लागि बिशेष दिन भयो; मैले पवित्र आत्मामा बप्तिस्मा पाए, स्वर्गका एकमात्र जीवित परमेश्वर, जो राजाहरुका राजा र प्रभुहरुका प्रभु हुनुहुन्छ, उहाँबाटको छुवाइ (इन्काउन्टर) मेरो जीवनमा भयो, म निको भए…….। घटना यस्तो थियो : त्यसबेला म एउटा परामर्श तालिमका लागि किर्तिपुरमा रहेको डा. तिमोथी अर्याल सरले संचालन गर्नुभएको तालिम केन्द्रमा थिए जहाँ अफ्रिका महादेशको केन्या देशबाट प्रभुको दास डा. चाल्र्स परामर्श बारे सिकाउन आउनुभएको थियो । उहाँ कक्षा सकेर अगाडि कुर्सीमा बसिरहनु भएको थियो । म कक्षाको अन्तमा त्यसै बसिरहेको थिए । त्यसबेला एकछिन मेरो दिमाग ब्ल्यान्क (शून्य) जस्तै भयो, म अचेत जस्तै भए । त्यसै बेलामा मेरा हृदयको बायाँ भागबाट केहि कुरा बतास जस्तै आयो र अर्को भागबाट धुलो कसिँगर उडे जस्तै गरि केहि कुरा बाहिर निस्केर गयो; र त्यस बताससँगै हृदयमा यस्तो शान्ति आयो, म अचम्मित भएँ, म निको भएँ, मेरो सारा शरीरमा आगो बलेजस्तै भयो, मेरा आँखा खुले, म आफैलाई कपास झैं हलुका लाग्यो, म स्वतन्त्र भए, अन्धकारका सबै शक्ति र डरहरुबाट छुट्कारा पाए आदि ।
ख्रीष्टमा जव म निको भए तवदेखि उसो आजसम्म कुनै दिन, कुनै समय पनि त्यस्तो दुःख भएन, संघर्ष भएन । म अहिले आत्मिक, शारीरिक आदि सम्पूर्ण रुपले निको भए; येशूमा मुक्ति, अनन्त जीवन, शान्ति, खुशी पाए । र, उहाँमा मैले यति धरै कुरा पाए कि प्रभु येशूको प्रेम, क्षमा, छुट्कारा, नयाँ जीवन, चँगाई आदिको बयान गरेर साध्य नै छैन । तसर्थ, आज म सबै परिवारजन, आफन्त, मित्रहरु सबैमा यो जीवनको सबैभन्दा खुशीको सन्देश बाँड्न चाहन्छु कि ख्रिष्ट येशूमा मात्रै साँचो शान्ति छ, पाप क्षमा छ, मुक्ति छ, अनन्त जीवन छ, अरु कसैमा छैन, कतै छैन (प्रेरित ४:१२) । उहाँले भन्नुभयो “बाटो, सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिताकहाँ (स्वर्ग) जान सक्दैन ।” पाप बन्धन बाट छुट्कारा दिन, अन्धाहरुलाई दृष्टि दिन, कैद र थिचोमिचोमा परेकाहरुलाई स्वतन्त्र गराउनका निम्ति ख्रिष्ट येशू यस संसारमा आउनुभयो (लुका ४:१८–१९) । विश्वास गर्नुहोस्, उहाँ नै सारा संसारका एकमात्र मुक्तिदाता हुनुहुन्छ; जीवन उहाँमा नै छ (प्रकाश १:८,१७,१८) । सबै महिमा उहाँलाई नै भएको होस् । आमेन !