भ्रष्टाचारबारे अब वार कि पार, : थापा (विज्ञप्तिसहित)

डेभिड भट्ट काठमाडौं

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब भ्रष्टचारीको पक्षमा वा विपक्षमा उभिनुपर्ने अवस्था आएको बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा एकपछि पार्टीकै एकपछि अर्को गर्दै उच्च नेताको नाम जोडिरहेका बेला थापाले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणलगायत भ्रष्टाचारका काण्डमा सबैले प्रष्ट हुनुपर्ने उनको भनाइ छ ।

महामन्त्री थापाले आफूले सार्वजनिक सञचारमाध्यमसहित संसद्मा गराइसकेको विषयमा पुनः ध्यानाकर्षण गराउने भन्दै चारबुँदे धारणा समेत सार्वजनिक गरेका छन् ।

यस्ताे छ, विज्ञप्ति

१. नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने प्रकरण ठगीको विषय मात्र होइन यो संगठित अपराध हो, मानव बेचबिखन हो । यो नेपाली नागरिकको अनादर मात्र होइन देशद्रोह नै हो । तसर्थ, यस्तो जघन्य अपराधमा संलग्न जो कोही हुन्, हदैसम्मको सजायका भागिदार छन् ।

२. हालसम्म यस प्रकरणमा सरकार र नेपाल प्रहरीले गरेको प्रयास प्रशंसनीय छ । अपराधमा संलग्न जोसुकै हुन, जुनसुकै परिवार, पद र पार्टीका किन नहुन्, निस्पक्ष छानबिन हुनुपर्छ । कुनै पनि बहानामा अनुसन्धान प्रकियामा अवरोध, ढिलासुस्ती, दबाब वा प्रभाव पारिनु हुँदैन । पर्दा पछाडिबाट त्यस्तो दुष्प्रयास गर्नेहरूको भण्डाफोर गर्नुपर्छ ।

३. विधिको शासन र कानुनको दृष्टिमा सबै नागरिकहरू समान हुन्छन् । अपराधमा संलग्न भैसकेपछि अपराधको दल, वर्ण, जात, लिंगग वा समुदाय हुँदैन, हुनुहुँदैन । दोषी छ भने जस्तोसुकै शक्तिशाली र प्रभावशालीले पनि उन्मुक्ति पाउनु हुँदैनस तर निर्दोष छ भने अन्यायमा पनि पर्नु हुँदैन । अनुसन्धानको स्वतन्त्र र स्वभाविक दिशाले निर्दिष्ट गरेको अन्तिम विन्दुसम्मै अनुसन्धान हुनुपर्छ ।

४. विधिको शासनको स्थापित मान्यता र अभ्यास अनुसार फौजदारी अभियोग र भ्रष्टाचारको मुद्दामा कुनै व्यक्ति अनुसन्धानको दायरामा आएपछि उक्त व्यक्ति सार्वजनिक पद वा भूमिकाबाट स्वतः निलम्बित हुन्छ, हुनुपर्छ । पदमा भएको व्यक्तिले आफूलाई त्यसबाट अलग राख्नुपर्छ अन्यथा सम्बन्धित निकायले अलग गराएर स्वतन्त्र अनुसन्धानको मार्ग प्रसस्त गर्नुपर्छ । अनुसन्धानबाट निर्दोष साबित भए पुनर्स्थापना हुन्छ नै । यो कानुनीमात्र होइन न्यूनतम नैतिक विषय पनि हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा यो नै नेपाली कांग्रेस पार्टीको धारणा हो । नेपाली कांग्रेस पार्टीका लाखौं आम सदस्यहरूको धारणा हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका केन्द्रीय तहदेखि विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरू संलग्न रहेको आरोपमा पक्राउ परिसकेपछि अब यो पक्राउ परेका व्यक्तिको निजी विषय हो ।

पार्टीमा क्रियाशिल कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा संलग्न हुन सक्छ । तर, थाहा भएको दिन पार्टीले त्यसको भारी बोक्न सक्दैन, बोक्नु हुँदैन । पार्टीको तर्फबाट हामीले भन्ने यतिमात्र हो– अनुसन्धान निष्पक्ष हुनुपर्छ, निर्दोष पर्नुहुन्न, दोषीले सजाय पाउनुपर्छ । दोषी र निर्दोष छुट्टयाउने कानुनी प्रक्रियाबाट हो ।

यति गम्भीर आरोप लाइसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति स्वतः पार्टीको जिम्मेवारीबाट अलग रहनुपर्छ अन्यथा पार्टीले निलम्बन गर्नुपर्छ । पार्टी सभापति, पदाधिकारीसँगको बैठक, सार्वजनिक मञ्चहरूमा मैले यो विचार राखेको छु । पार्टीभित्र, बाहिर, औपचारिक, अनौपचारिक बैठक सबैमा हिजो पनि,आज पनि र भोली पनि मेरो धारणा यही नै रहनेछ

पार्टीका कतिपय साथीहरूबाट नेपाली कांग्रेसको यस्तो परम्परा नभएको भन्ने विचार पनि आएका छन् । यसमा पनि म प्रष्ट छु– गलत परम्परा तोडिनु पर्छ । परम्पराका नाममा घातक प्रवृत्तिलाई पार्टीले बोक्न सक्दैन, बोक्नु हुँदैन । मेरो यो विचारलाई पार्टीको विचार बनाउन म निरन्तर लागेको छु, लागिरहनेछु ।

अतः हामी कांग्रेस प्रष्ट हुनुपर्छः–

१. नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस र यस पार्टीसँग आबद्ध कुनै पनि सदस्यले छानबिन प्रक्रियालाई सघाउने हो, आरोपित व्यक्ति निर्दोष भए छुट पाउँछ, अपराध गरेको भए कानुन बमोजिमको सजाय पाउनै पर्छ । जबसम्म अनुसन्धान हुन्छ, निलम्बन हुने कुरा स्वभाविक हो र पार्टीका साथीहरूले त्यही अनुसार बुझ्नुपर्छ । परम्पराका नाममा यसलाई अपव्याख्या गर्ने, सामान्यीकरण गर्ने, र पार्टीको कुनै पनि तह,पद वा सांगठनिक संरचनालाई दुरुपयोग गरेर पक्षधरता लिने काम तत्काल रोकिनु पर्छ ।

२. नक्कली भुटानी शरणार्थी प्रकरण मात्रै होइन, अख्तियारको दुरूपयोग, भ्रष्टाचार, आर्थिक अनियमितता, सार्वजनिक पदको दुरुपयोग जस्ता विगतमा भएका अन्य मुद्दाहरूको पनि निष्पक्ष अनुसन्धान र छानबिन गरी दोषीलाई कारबाही गर्न र सुशासन कायम गर्न दृढतापूर्वक नेपाली कांग्रेसले नेतृत्व लिनुपर्छ ।

३. भ्रष्टाचारको एउटा महत्वपूर्ण कारण र आधार नीतिगत भ्रष्टाचार बनेको छ । नीतिगत विषयमा ठूला र शक्तिशाली भ्रष्टाचारका कार्य भइरहेका प्रसंग उठेका छन् । त्यसैले, विगतमा नीतिगत निर्णयका नाममा तामेलीमा रहेका वा अनुसन्धानको दायरामा नआएका भ्रष्टाचारका विषयहरू समेत अनुसन्धानको दायरामा ल्याउनु पर्छ । भ्रष्टाचार सम्बन्धी कसुरमा हदम्याद हटाउनु पर्छ । यसका निम्ति संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचार सम्बन्धी दुईवटा ऐन संशोधन विधेयक विचाराधीन छन् । हामी नेपाली कांग्रेसका सांसदहरूले यी विषयलाई संशोधनमा राखेका छौं । यी विषय लगायत भ्रष्टाचारको जालो तोड्ने र सुशासन कायम गर्ने बलियो कानुनी, संरचनागत र संस्थागत सुधार गर्ने जुन वातावरण ऐले बनेको छ, त्यसको नेतृत्व र अग्रसरता कांग्रेसले नै लिनुपर्छ ।

अन्त्यमा, अनुहारमा दाग लागेपछि ऐना जतिपटक पुछे पनि अनुहारको दाग पुछिँदैन, अनुहारकै दाग पुछ्नु पर्छ । त्यसका लागि पार्टीभित्र शुद्धीकरणको अपरिहार्यतालाई बोध गर्दै पार्टीका प्रत्येक सदस्यले दृढ संकल्प गर्ने बेला आएको छ । सुशासन र सदाचार नै समुन्नत नेपाल निर्माणको आधारशिला हुन् । त्यसैले तिनको पक्षमा दृढतापूर्वक उभिन र जहाँ हुनुहुन्छ त्यहीबाट भ्रष्टाचार र कुशासनका विरुद्धमा पार्टीभित्र र बाहिर आवाज उठाउन, दवाब दिन र खबरदारी गर्न पार्टीका सम्पूर्ण साथीहरूलाई आग्रह गर्दछु

Please follow and like us:
error0
fb-share-icon15
Tweet 20
fb-share-icon20

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button