जुमलाई झट्का दिँदै फेसबुक मेसेन्जर रुम, भिडियो कन्फ्रेन्सिङमा

आफ्ना प्रतिस्पर्धीहरूलाई मात दिनका लागि आफ्ना सेवामा निरन्तर विस्तार गरिरहनु फेसबुकको एउटा मुख्य विशेषता नै हो ।

अहिले महामारीको लकडाउनका बेला विश्वमा भिडियो कन्फ्रेन्सिङका लागि भिडियो कन्फ्रेन्सिङ सर्भिस जुम निकै लोकप्रिय बनिरहेको छ । तर, जुमको यो लोकप्रियताबाट लोभिएको फेसबुकले आफ्नो मेसेन्जर सर्भिसमा नयाँ ग्रुप भिडियो कलिङ फिचर सुरु गरेको छ । नयाँ भिडियो कन्फ्रेन्सिङ प्लाटफर्ममा एकैपटकमा ५० जनासम्मले सामूहिक भिडियो कन्फ्रेन्सिङ गर्न सक्नेछन् ।

जुमको नि:शुल्क संस्करणमा एकपटकमा एक सय जनासम्मले सामूहिक भिडियो कल गर्नसक्ने भएपनि एक पटकमा अधिकतम ४० मिनेटसम्म मात्र कुरा गर्न सकिन्छ । तर, मेसेन्जर रुममा भिडियो कन्फ्रेन्सिङ गर्दा समयको पाबन्दी रहेको छैन । अर्कोकुरा फेसबुक प्रयोगकर्ताले अन्य व्यक्तिलाई मेसेन्जर रुममा इन्भाइट गर्न सक्छन् र यसका लागि फेसबुक अकाउन्ट हुनु अनिवार्य हुँदैन । फेसबुकका अनुसार मेसेन्जर रुम्समा आर्टिफिसियल इन्टेलिजेन्सयुक्त भर्चुअल ब्याकग्राउण्ड फिचर उपलब्ध हुनेछ ।

हाललाई फेसबुकको मुख्य प्लेटफार्म तथा मेसेन्जर एपबाट उक्त मेसेन्जर रुम्समा जान सकिने भए तापनि अब छिटै यसलाई इन्स्टाग्राम तथा ह्वाट्स एपसँग पनि जोडिने फेसबुकले जनाएको छ । आगामी केही हप्ताभित्रै यो फिचर संसारभरका प्रयोगकर्ताका लागि उपलब्ध गराइने फेसबुकले जनाएको छ । यद्यपि फेसबुकले नयाँ भिडियो कलिङ सर्भिस ल्याउनुका अलावा आफ्नो विद्यमान भिडियो सर्भिसमा समेत विस्तार गरिरहेको छ । लकडाउनका बेला फेसबुकको भिडियो कलको दरमा अति नै उच्च वृद्धि भएको छ । हरेक दिन फेसबुकको मेसेन्जर एपमा ७० करोड मानिसले भिडियो कल गर्ने गरेका छन् । कतिपय देशमा पछिल्ला दिनहरूमा फेसबुकको प्रयोग दोब्बरले बढेको छ ।

फेसबुकले मेसेन्जरका साथै ह्वाट्सएपको भिडियो कलिङ सेवामा समेत क्षमता विस्तार गर्दैछ । यसका लागि ह्वाट्सएपमा ग्रुप भिडियो कलिङमा सहभागीको संख्या चार बाट आठमा पुर्‍याउँदैछ, जुन यहीँ हप्तादेखि सुरु हुँदैछ । स्मरण रहोस् ह्वाट्सएप एण्डटूएण्ड इनक्रिप्सन प्रविधियुक्त एकमात्र भिडियो कलिङ सर्भिस हो । अर्थात् यसमा हुने भिडियो कलिङ तथा डाटाहरू तेश्रो पक्ष वा ह्वाट्सएप स्वयंले समेत डिकोड गर्न असम्भव हुनेछ । हालैका दिनहरूमा जुमका प्रयोगकर्ताका डाटाहरू चोरी भएको समाचार आइरहेका बेला ह्वाट्सएपको यो फिचरले प्रयोगकर्ताको मन जित्न सहयोग पुग्ने आशा फेसबुकको छ । एजेन्सी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button