बाजे र साम बाबालाई केवल तीन दिनको अन्तरालमै गुमाउनु पर्छ भनेर कहिल्यै पनि सोचेकी थिइन।

तारा भट्ट भट्ट काठमाडौं

बाजे र साम बाबालाई केवल तीन दिनको अन्तरालमै गुमाउनु पर्छ भनेर कहिल्यै पनि सोचेकी थिइन। बाजेको उमेर ढल्कदै गरेको देखे पनि अझै समय छ भनेर सोच्थेँ। गलत थिएँ म। साम बाबालाई त झन् यति छिटै गुमाउनु पर्छ भनेर त कल्पना समेत गरेकी थिइन।

यो के भयो? यो किन भयो? धेरै प्रश्नहरु मनमा उब्जिएका छन्। पक्कै पनि यसको जवाफ हामी कसैसंग छैन। हामी दुःखी छौं, थाकेका छौं, पीडामा छौं र अत्यन्तै निराश छौं। हामीमा असन्तुष्टि छ जुन हामी व्यक्त पनि गर्न सक्दैनौं।

आज बिहान आमाले साम बाबाको स्वस्थ अझै खस्किदै गएको कुरा सुनाउनु भयो। जीवनमा पहिलो पटक मैले रूँदै, कराउदै प्रभुसंग साम बाबालाई जीवन दान दिनुहोस् भनेर प्रार्थना चढाएँ। अहिले होइन, यसरी होइन, यस्तो समयमा होइन, भनेर प्रभुसँग झगडा गरेँ। अनि प्रभुले मेरो मनमा यस्तो ठूलो शान्ति हालिदिनुभयो कि मबाट एकदमै ठूलो बोझ हटेको जस्तो महसुस भयो। म त्यस पश्चात ढुक्क थिएँ।

मण्डलीको प्रार्थनामा भाग लिएँ। मेरो मन अझै शान्त भयो। म ढुक्क थिएँ कारण प्रभुको शान्ति मैले महसुस गरेकी थिएँ।

7’49 मा लाक्पा दाईले फोन गर्नुभयो। “साम बाबा साह्रो हुनुभयो। डक्टरभित्र जानुभएको छ।”

मैले आमा र अक्सालाई भनेँ। हामी मण्डलीको प्रार्थनामा फेरि सहभागी भयौँ। म निर्धक्क थिएँ। मेरो बिहानको प्रार्थना प्रभुले सुन्नुभएको मलाई विश्वास थियो। साथै पूरै मण्डलीले साम बाबाको निम्ति अन्तरबिन्ती गरिरहेका थियौं। हामी अब साम बाबाको जीवनमा प्रभुको आश्चर्य कामको पर्खाइमा थियौं। म ढुक्क थिएँ, प्रभुमा पूर्ण विश्वास थियो।

आमालाई फोन आयो।

साम बाबा हुनुहुन्न।

मलाई विश्वास लागेन। फेरि कन्फर्म गरेँ। त्यही कुरा, त्यही जवाफ! साम बाबा हुनुहुन्न।

आप्पालाई फोन गरेँ।

“आप्पा, सरी। आप्पा सरी।” आप्पाले बुझ्नु भयो, “बित्नुभयो?” आप्पाले सोध्नुभयो।

“It’s okay Hadassah. Stay strong.” आप्पाले तीन दिन भित्र आफ्नो प्यारो आप्पा र दाजुलाई गुमाउनु भयो। घरदेखि टाढो अनि यस्तो अवस्थामा कति गाह्रो भयो होला तर उल्टै सान्त्वना दिँदैहुनुहुन्थ्यो।

बडीलाई फोन गरेँ, सङ्गै रूयौँ। हामी दुवै जनाको एउटै प्रश्न, यो के भयो?

आफन्त, साथी भाइको फोन आउन थाल्यो। यो के भयो मैले बुझ्न सकिन, हामीले बुझ्न सकेनौँ, बुझ्न सकिरहेका छैनौं।

मेरो मनमा शान्ति किन अझै छ? किन मैले मेरो साम बाबालाई गुमाउन पर्दा पनि आँसुको एक थोपा पनि आँखाबाट झरेको छैन?

हामी आश्चर्य कामको पर्खाइमा थियौं। हामीले आश्चर्य कामको लागि प्रभुसंग अन्तरबिन्ती गरेका थियौं। प्रभुको निम्ति केही कुरा असम्भव छैन। उहाँले साम बाबालाई पूर्ण रूपमा जाती बनाउन सक्नुहुन्थ्यो तर उहाँले यस्तो गर्नुभएन।

हामी सबैको मनमा प्रभुप्रति एउटै प्रश्न, खै त प्रभु तपाईंले किन हामीलाई निराश बनाउनुभयो? किन हामीले बिन्ती चढाएको आश्चर्य काम देखाउनु भएन?

।। किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्‍ति बनाएको छु, ती म जान्‍दछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “ती तिमीहरूका उन्‍नतिको निम्‍ति हुन्, नोक्‍सानीको निम्‍ति होइनन्, तिमीहरूलाई आशा र भविष्‍य दिनलाई।

यर्मिया 29:11 ।।

यो कस्तो किसिमको आशा, कस्तो खालको भविष्य हो हामी जान्दैनौं तर प्रभु जान्नुहुन्छ। प्रभुको लागि जे असल थियो, उहाँले त्यो पूरा गर्नुभयो। आश्चर्य काम किन भएन भन्ने हामी सबैको गुनासो हो तर आश्चर्य काम प्रभुले शुरू गरिसक्नुभएको छ। त्यो आश्चर्य काम मैले मेरो परिवारमा देख्दैछु। त्यो आश्चर्य काम मैले मण्डलीमा देख्दैछु। बिगत केही दिनमा जसै हामी सबै एकजुट भइ अन्तरबिन्तीका प्रार्थना गर्दै थियौँ प्रभुले एउटा नयाँ जाग्रिति ल्याउनुभएको महसुस गरेकी छु।

मलाई साच्चै भन्नु पर्दा बाजे पछि मण्डलीमा के हुन्छ होला भन्ने ठूलो डर लाग्थ्यो। त्यो मेरो पहिलो गलती।

साम बाबा हाम्रो मण्डलीको लागि चाहिन्छ भनेर प्रार्थना चढाएँ। त्यो मेरो दोस्रो गलती।

यो कुरा बाजे या साम बाबाको होइन, प्रभुको हो। मण्डलीमा बाजे या साम बाबा होइन, प्रभु चाहिएको हो।

बाजे र साम बाबा दुवैले आफ्नो सम्पूर्ण जीवन प्रभुलाई दिनुभएको थियो। अनि उहाँहरू आफै नभएर प्रभुले उहाँहरू द्वारा काम गर्नुभयो। प्रभुको ठूलो महिमा उहाँहरूको जीवनद्वारा भएको छ। अनि उहाँहरूको प्रार्थनाका कारण प्रभुले हामी सबैलाई धेरै आशिष दिनुभएको छ र भविष्यमा पनि दिनुहुनेछ।

मनमा चोट, पीडा, बेचैनी हामी सबैलाई छ। अनि म यस्तो प्रकारको कुरा गर्ने मान्छे पनि होइन। मैले शायदै अहिलेसम्म असल ईसाई जीवन नै बिताएको थिएँ तर बाजे अनि साम बाबाको यो घटनाले मेरो जीवनमा प्रभुको आश्चर्य काम भएको छ। बाजे अनि साम बाबाको अन्तरबिन्तीको सुनुवाई भएको छ। प्रभुको आश्चर्य काम शुरू भैसकेको छ।

बाजे अनि साम बाबालाई हामी सधैं सम्जिनेछौँ, परिवारका दुई खम्बालाई हामीले गुमाएका छौं, हाम्रा दुई मूख्य अभिभावक अब रहनु भएन, मण्डलीले पनि आफ्ना अभिभावक र दुई साँचो आरधकलाई गुमाएको छ। यो सजिलो कुरा पक्कै होइन।

तर जुन शान्ति मैले मेरो ह्दयमा पाएको छु, त्यही शान्ति प्रभुले हामी सबैलाई दिनुभएको होस्।

बाजेले हाम्रो निम्ति छोड्नु भएको अन्तिम वचनको यो खण्डलाई लिदै अगाडि बढ्दैछु –

।। सबै परिस्‍थितिमा धन्‍यवाद देओ, किनकि ख्रीष्‍ट येशूमा तिमीहरूका लागि परमेश्‍वरको इच्‍छा यही हो।

१ थेसलोनिकी 5:18 ।।

प्रभुमा सबै थोक राखौं। प्रभुले हामीलाई सबैभन्दा धेरै प्यार गर्नुहुन्छ। उहाँले आफ्नो योजना पूरा गर्नुभयो, जुन हामी कसैले बुझेनौं र बुझ्न सक्दैनौं पनि तर त्यो उहाँको द्रिष्टीमा असल थियो।-

-By Hadassah Dona Karthak …

Please follow and like us:
error0
fb-share-icon15
Tweet 20
fb-share-icon20

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button