पलले छाडेको फिल्म मैले गर्दैमा सम्बन्ध विग्रियो भन्न मिल्दैनः पुष्प खड्का

नायक पल शाहले केही समय अगाडि चलचित्र ‘रेड वाइन’ साइन गरे । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पल शाहले एकसाथ चलचित्र साइन गरेका थिए । तर, पलले यो चलचित्र छाडे । पलले चलचित्र छाड्नुको कारण भने खुलाएका छैनन् ।

चलचित्रको नाम अहिले परिवर्तन गरेर ‘तिम्रो मेरो साथ’ राखिएको छ । पलले चलचित्र छाडेपछि नायक पुष्प खड्का यो प्रोजेक्टमा जोडिएका छन् । म्यूजिक भिडियोबाट नै चलचित्र क्षेत्रमा उदाएका यी दुई कलाकारविच सम्बन्ध चिसिएको खबर सार्वजनिक भयो । पल र पुष्प प्रतिस्पर्धीको रुपमा देखिए ।

तर, यी दुई कलाकारले भने आफूहरुको मित्रतामा खटपट नआएको बताएका छन् । चलचित्र ‘मनसँग मन’को सेटमा भेटिएका पलले भने–‘औपचारिक निर्णय नहुँदै बाहिर हल्ला नगरिदिएको भए राम्रो हुन्थ्यो । तर, पनि ठिकै छ । पुष्प र मविचमा कुनै पनि खालको टकराव छैन । हामी हिजो पनि मिल्ने साथी थियौं, अहिले छौ र भोली पनि हुनेछौ ।’

यस्तै, नायक पुष्प खड्काले पनि कारणवस पलले खेल्न नसकेको चलचित्र आफूले गर्दैमा सम्बन्ध नै विग्रिएको भन्न नमिल्ने बताए । उनले, आफूहरु दुबै जना म्यूजिक भिडियोबाट आएको भन्दै मित्रतामा कुनै पनि खालको तिक्तता नआएको बताए ।

पुष्प र नायिका वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘मनसँग मन’को एउटा गीतमा पल र नायिका पूजा शर्माले अतिथी कलाकारको रुपमा काम गरेका छन् । पलले पुष्पको चलचित्रमा आफूले काम गर्नुले पनि सम्बन्ध कस्तो छ भनेर थाहा हुने बताए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button