दुष्टात्मा (भूतप्रेत) बाट छुटकारा येशूमा जीवन

विष्णु अवस्थी

दुष्टात्मा (भूतप्रेत) बाट छुटकारा येशूमा जीवन

मेरो नाम विष्णु अवस्थी हो। मेरो जन्म २०३८ साल (सन् १९८२) मा बैतडी जिल्लाको शिलंगा (पाटन) मा भएको हो। म परम्परागत धार्मिक आस्थामा समर्पित परिवारमा हुर्कें । मेरो हजुरबुबा ज्योतिष भएको कारणले पनि धेरै मानिसहरू उहाँकहाँ भाग्य हेर्न तथा आध्यात्मिक सल्लाह लिन आउँथे । यस कारणले हाम्रो परिवारको वातावरण पनि आध्यात्मिक गतिविधिहरूसँग जोडिएको थियो। र यसरी नै आध्यात्मिक अभ्यासहरू मेरो जीवनको एउटा स्वाभाविक भाग बनेका थिए ।

तर, यी सबैका बीच हाम्रो परिवारभित्र गहिरो पीडा र संघर्ष पनि थियो। मेरा बुबा तीन दशकभन्दा बढी समयसम्म एउटा रोगबाट पीडित हुनुहुन्थ्यो। त्यस समय हामीले त्यसलाई तन्त्रमन्त्र, भूतप्रेत वा दुष्ट आत्माको प्रभाव हो भन्ने ठानेका ठानेका थियौं, बुबाले पनि त्यसै भन्नुहुन्थ्यो । यस कुराले हाम्रो परिवारमा ठूलो चिन्ता र निराशा ल्याएको थियो । निको हुने आशामा हामीले विभिन्न पूजा–पाठ, झारफुक तथा धार्मिक कर्मकाण्डहरू पनि गर्यौं। धेरै ठाउँमा सहयोग र समाधान खोज्यौं, तर कुनै परिवर्तन आउन सकेन। ती अनुभवहरूले मेरो मनमा जीवन, पीडा, ईश्वर, सत्यको बारेमा धेरै अनुत्तरित प्रश्नहरू जन्मिए ।

साथै सानैदेखि मेरो मनमा एउटा प्रश्न सँधै उठ्थ्यो—यदि कुनै निर्जीव वस्तु, जस्तै ढुङ्गा वा काठलाई पूजा गरिन्छ भने, त्यसको वास्तविक अर्थ के हो? आखिर त्यो न बोल्न सक्छ, न सुन्न सक्छ, न त आफैं केही गर्न सक्छ। यस्तो वस्तुले मलाई कसरी बचाउन सक्छ अथवा मेरो जीवनमा यसले वास्तवमा के गर्न सक्छ होला आदि? यी प्रश्नहरूले मलाई धेरै समयसम्म सोच्न बाध्य बनायो । बाहिरबाट हेर्दा मेरो जीवन ठीकै थियो । तर भित्र भने अशान्ति, निराशा, अन्योल, डर र एक्लोपन थियो म साँचो परमेश्वर र साँचो शान्तिको खोजीमा थिएँ।

१९९८ मा कक्षा दसको अध्ययन पश्चात् मेरो जीवनमा एउटा मोड आयो। मैले आफ्ना मामा मार्फत येशू ख्रीष्टको बारेमा थाहा पाएँ। त्यो समय मेरो लागि अत्यन्त महत्वपूर्ण थियो, किनकि त्यसले जीजनमा आशा र अनुग्रहको सन्देश ल्यायो। त्यसपछि मैले शान्ति, प्रेम र जीवनको नयाँ उद्देश्य अनुभव गर्न थालें। मैले बाइबल अध्ययन गर्न र नियमित रूपमा संगतिमा सहभागी हुन सुरु गरें ।

बिस्तारै, म यसमा विश्वस्त भएँ कि येशू ख्रीष्ट नै एकमात्र साँचो परमेश्वर हुनुहुन्छ, सबै कुरालाई त्यागेर मैले उहाँमा विश्वास राखें । आध्यात्मिक रूपमा बढ्दै जाँदा, मैले पाप, मानवीय कमजोरी, प्रलोभन, र परमेश्वरको अगाडि कोही पनि धर्मी छैन भन्ने सत्यलाई अझ गहिरो रूपमा बुझ्न थालें। मैले आफैं पनि परमेश्वरबाहेक ममा कुनै राम्रो कुरा छैन भन्ने बुझेँ। यस अनुभूतिले मलाई गहिरो आत्मिक संघर्ष र साँचो पश्चात्तापमा पुर्यायो। “सबैले पाप गरेका छन् र परमेश्वरको महिमा सम्म पुग्नबाट चुकेका छन्।” (रोमी ३:२३) कहिलेकाहीँ म अत्यन्त बोझ महसुस गर्थें । तर यसबीचमा पनि मेरो आशा येशू ख्रीष्टमै थियो, किनकि उहाँ नै मेरो मुक्तिदाता र धार्मिकता हुनुहुन्छ। म उहाँलाई सम्पूर्ण हृदयले खोजिरहें। “जबसम्म परमप्रभुलाई पाउन सक्छौ उहाँलाई खोज, उहाँ नजिक हुँदा नै उहाँलाई भेट।” (यशैया ५५:६)

विशेष दिन – मार्च १, २०१८

सन् २०१८ को मार्च १ मेरो जीवनको एक अत्यन्त विशेष दिन बन्यो। त्यस दिन मैले पवित्र आत्मामा बप्तिस्मा पाएँ । स्वर्गका एकमात्र जीवित परमेश्वर—राजाहरूका राजा र प्रभुहरूका प्रभु — परमेश्वरको उपस्थितिलाई मैले व्यक्तिगत रूपमा अनुभव गर्ने अवसर पाएँ पवित्र आत्माको गहिरो स्पर्शले मेरो हृदयलाई छोयो। । त्यस अनुभवले मलाई पूर्ण रूपमा परिवर्तन गर्‍यो, र म निको भएँ ।

त्यसबेला म कीर्तिपुरमा रहेको एक परामर्श तालिममा सहभागी थिएँ, जुन डा. तिमोथी अर्याल सरले सञ्चालन गर्नुभएको थियो। उक्त तालिममा केन्या (अफ्रिका) देशबाट आउनुभएका प्रभुको सेवक डा. चार्ल्सले परामर्शसम्बन्धी शिक्षा दिनुहुन्थ्यो। एक दिन कक्षा सकिएपछि उहाँ अगाडि कुर्सीमा बसिरहनुभएको थियो। म कक्षाको अन्त्यमा चुपचाप बसिरहेको थिएँ। अचानक, मेरो दिमाग शून्य जस्तो भयो—म अचेतजस्तै अवस्थामा पुगेँ। त्यसै क्षण, मेरो हृदयको दायाँ भागबाट कुनै बतासजस्तो शान्त उपस्थिति प्रबेश गरेको महसुस भयो, र अर्को भागबाट धुलो वा कसिङ्गर उडेझैँ गरी केही अन्धकारमय गह्रँगो कुरा बाहिर निस्कियो (दुष्ट आत्मा)। त्यस बताससँगै मेरो हृदयमा गहिरो शान्ति भरियो। म अचम्मित भएँ—म निको भएँ। मेरो सारा शरीरमा आगो बलेजस्तो शक्तिको अनुभव भयो, मेरा आँखा खुले, र म आफैलाई कपासझैँ हलुका महसुस गर्न थालेँ। त्यस क्षणदेखि म स्वतन्त्र भएँ—दुष्ट आत्मा, अन्धकारका शक्ति र डरहरूबाट पूर्ण रूपमा छुटकारा पाएँ।

बाइबलले भन्छ:

“जहाँ प्रभुको आत्मा हुनुहुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ।” (२ कोरिन्थी ३:१७)

“यदि पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने, तिमीहरू निश्चय नै स्वतन्त्र हुनेछौ।” (यूहन्ना ८:३६)

नयाँ जीवन

त्यो अनुभव मेरो लागि केवल एक भावनात्मक क्षण मात्र थिएन, तर परमेश्वरसँगको एक गहिरो व्यक्तिगत भेट थियो। मैले आत्मिक स्वतन्त्रता, चंगाइ र नयाँ जीवनको अनुभूति पाएँ। त्यस दिनदेखि मैले प्रभु येशूमा नयाँ जीवनको यात्रा सुरु गरेँ। त्यस दिनदेखि मेरो जीवन परिवर्तन भएको छ। म अब पहिले जस्तो बोझ, डर वा बन्धनमा बाँच्दिनँ। मैले आत्मिक, भावनात्मक र शारीरिक रूपमा चङ्गाइ अनुभव गरेको छु। येशू ख्रीष्टमा मैले मुक्ति, शान्ति, आनन्द र अनन्त जीवनको सुनिश्चितता पाएको छु । यो मेरो आफ्नै योग्यता धर्मकर्मले होइन, तर यो महान परमेश्वरको अनुग्रह, दया, प्रेम र कृपा हो।

अब म यो पक्का गरि जान्दछु कि साँचो शान्ति, पापको क्षमा, मुक्ति र अनन्त जीवन केवल येशू ख्रीष्टमा मात्रै पाइन्छ। जसरी उहाँले भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। म बिना कोही पनि पिताकहाँ आउन सक्दैन।” (यूहन्ना १४:६)

“किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमा विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।” (यूहन्ना ३:१६)उहाँ मानिसहरूलाई पापबाट मुक्त गर्न, अन्धाहरूलाई दृष्टि दिन, दुःखी र दबिएका मानिसहरूलाई स्वतन्त्र गराउन आउनुभएको हो। मानिसले धेरै कुरामा सहारा खोज्छ, तर आत्माको वास्तविक तृष्णा केवल परमेश्वरमा मात्र पूरा हुन्छ। साँचो जीवन, साँचो आनन्द र साँचो उद्धार उहाँमै मात्र पाइन्छ।सबै महिमा उहाँलाई नै होस्।

आमेन

मार्च १, २०२५

काठमाण्डौं, नेपाल

मेवाइल/Whats App:+977 9847336577

इमेलः bawasthi123@gmail.com

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button