मण्डली र परिवारमा महिलाहरूको भूमिका (सृष्टिको ढाँचा, जिम्मेवारी र अगुवापनको बाइबलीय सिद्धान्त)  

बिमल छेत्री, सिलगढ़ी

मण्डली र परिवारमा महिलाहरूको भूमिका

(सृष्टिको ढाँचा, जिम्मेवारी र अगुवापनको बाइबलीय सिद्धान्त)

 

भूमिका:

ख्रीष्टियान जीवन, परिवार र मण्डलीको सुव्यवस्था र सञ्चालन कसरी हुनुपर्छ र यसको मर्यादा कसरी कायम राख्नुपर्छ भन्ने कुराको अन्तिम र सर्वोच्च अधिकार केवल परमेश्वरको जीवित वचन बाइबलसँग मात्र छ। समकालीन समाज र आधुनिक विचारहरूले मण्डली र परिवारभित्र महिलाहरूको भूमिका, नेतृत्व र अधिकारको विषयलाई विभिन्न दृष्टिकोण र तर्कहरूद्वारा व्याख्या गर्न खोजेको पाइन्छ। कतिपय अवस्थामा सांसारिक परिभाषाहरूले बाइबलीय जगलाई नै धमिलो बनाउन खोजेका देखिन्छ। तर, उत्पत्तिको पुस्तकदेखि नयाँ करारका पत्रहरू र प्रेरितहरूका शिक्षाहरूलाई गहिरो एवं शृङ्खलाबद्ध रूपमा अध्ययन गर्ने हो भने, परमेश्वरले मानव जातिको सुरुवातदेखि नै पुरुष र महिलाका लागि एउटा अत्यन्तै सुन्दर, स्पष्ट र अपरिवर्तनीय आत्मिक संरचना (ढाँचा) तयार गर्नुभएको सत्यता छर्लङ्ग हुन्छ।

यो बाइबलीय बुझाइले पुरुष र महिला दुवैलाई सृष्टिकर्ता परमेश्वरको नजरमा समान मूल्य, आदर, सामर्थ्य र गरिमा भएको अकाट्य सत्यलाई पूर्ण रूपमा स्वीकार गर्दछ र यसको वकालत गर्दछ। ख्रीष्टमा दुवैको आत्मिक स्थान र मुक्तिमा कुनै सानो-ठुलो वा भेदभाव छैन। तथापि, समान मूल्य हुनुको अर्थ भूमिका पनि एउटै हुनु होइन। परमेश्वरले उनीहरूलाई फरक-फरक तर एकअर्काको अभावलाई पूर्ण गर्ने विशिष्ट र पूरक (Complementary) भूमिकाहरू निर्वाह गर्न बोलाउनुभएको छ। मण्डली र परिवारमा ईश्वरीय सुव्यवस्था, आशिष् र आत्मिक सुरक्षा कायम राख्नका लागि परमेश्वरले तोक्नुभएको यही सृष्टिको ढाँचा, जिम्मेवारीको विशिष्टता र अगुवापनको मर्यादालाई बुझ्नु र पालना गर्नु आजको मण्डलीका लागि अपरिहार्य बनिसकेको छ।

 

परमेश्वरको प्रारम्भिक योजना:

परमेश्वरले पुरुष र महिलाको भूमिकाका लागि जग सृष्टिको सुरुवात मै बसाल्नुभयो। उत्पत्ति २:१८ ले भन्छ, “फेरि परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस एकलो रहन असल छैन। म त्यसका निम्ति त्यसलाई सुहाउने एक जना सहयोगी बनाउनेछु।”

परमेश्वरले पहिले आदमलाई सृष्टि गर्नुभयो र त्यसपछि हव्वालाई आदमको “सहयोगी” (हिब्रूमा ‘ईजेर केनेग्दो’) को रूपमा बनाउनुभयो। यहाँ “सहयोगी” शब्दले कुनै पनि रूपमा कम मूल्य वा कमजोरीलाई संकेत गर्दैन। बाइबलमा परमेश्वर आफैलाई पनि कतिपय ठाउँमा मानव जातिका “सहायक” भनिएको छ (भजन ३३:२०), जसले शक्ति र सामर्थ्यलाई बुझाउँछ। त्यसैले, हव्वालाई आदमका लागि एक शक्तिशाली र आवश्यक सहयात्रीको रूपमा सृष्टि गरिएको थियो, जसले आदमको नेतृत्वलाई समर्थन गर्छिन्, तर आफैमा मूल्यमा बराबर हुन्छ।यस शब्दको गहिराइ र सृष्टिको क्रमलाई यसरी बुझ्न सकिन्छ:

‘ईजेर’ (Ezer): हिब्रू भाषामा ‘ईजेर’ शब्द सैन्य शक्ति, उद्धारकर्ता वा सङ्कटमा बचाउने “शक्तिशाली र समर्थ सहायक” का लागि प्रयोग गरिन्छ। यदि यसले कमजोरी बुझाउँथ्यो भने परमेश्वरले आफूलाई मानिसको सहायक भन्नुहुने थिएन। त्यसैले हव्वा आदमभन्दा कमजोर होइन, तर आदमको अभावलाई पूरा गर्ने एउटा ‘सामर्थ्य’ थिइन्।

‘केनेग्दो’ (Kenegdo): यसको अर्थ “आँखाको सामुन्ने ठ्याक्कै आमने-सामने हुनु” वा “बराबरको समकक्ष” हो। अर्थात् हव्वा आदमको खुट्टामुनि (कमजोर) पनि थिइनन्, न त टाउको माथि (शासक) थिइन्; उनी त आदमकै बराबरको स्तर र आत्मिक हैसियत भएकी सहयात्री थिइन्।

पुरुषको जवाफदेहिता र नेतृत्व: आदमलाई सुरुमै बगैँचाको जिम्मेवारी, रेखदेख र प्राणीहरूको नाउँ राख्ने अधिकार दिइएको थियो, जसले सृष्टिको समयदेखि नै पुरुषको आत्मिक नेतृत्व र जवाफदेहिताको भूमिकालाई स्पष्ट पार्छ। हिब्रू संस्कृतिमा सृष्टिको यो पहिलो क्रमले ‘अधिकारको जग र जिम्मेवारी’ (Order and Responsibility) लाई बुझाउँछ। परमेश्वरले आदमलाई पहिले बनाएर मण्डली र परिवारको आत्मिक पहरेदारको मुख्य जिम्मेवारी सुम्पनुभयो, र हव्वालाई त्यो नेतृत्वलाई पूर्णता दिने ‘सामर्थ्यवान् पूरक’ को रूपमा स्थापित गर्नुभयो।

 

बाइबलमा महिलाहरूको नेतृत्व र सेवकाइ:

यदि हामीले पुरानो र नयाँ करार दुवैलाई हेऱ्यौं भने, इतिहासका विभिन्न कालखण्डमा परमेश्वरले महिलाहरूलाई ठुलो आदर र जिम्मेवारी दिनुभएको छ। बाइबलको इतिहासमा ऐतिहासिक मन्दिर वा पालको पूजाहारी (Priest) को भूमिकामा केवल हारूनको वंशका पुरुषहरूलाई मात्र नियुक्त गरिए तापनि, महिलाहरू प्रायः ती अन्य सबै सेवकाइहरूमा सक्रिय र नेतृत्वदायी भूमिकामा रहेको पाइन्छ, जुन पुरुषहरूले गर्थे-

न्यायकर्ता र अगमवक्ता: इस्राएलको इतिहासमा दबोरा एक शक्तिशाली न्यायकर्ता र अगमवक्ता थिइन् (न्यायकर्ता ४), जसको आत्मिक र रणनीतिक नेतृत्वमा इस्राएलीहरूले युद्ध जितेका थिए। त्यस्तै मिरियम (प्रस्थान १५:२०) र हुल्दा (२ राजा २२:१४) पनि अगमवक्ताका रूपमा प्रयोग भए।

शिक्षिका र प्रचारक: नयाँ करारमा प्रिस्किलाले आफ्ना पति अक्विलासँग मिलेरअ पोल्लोस जस्ता कुशल प्रचारकलाई धर्मशास्त्रको गहिरो ज्ञान सिकाएकी थिइन् (प्रेरित १८:२६)।

डिकन र मण्डलीको खम्बा: रोमी १६:१ मा पावलले किंक्रिया मण्डलीकी डिकन(सेविका) फिबीको प्रशंसा गरेका छन्, जसले मण्डली र पावलको सेवकाइमा ठुलो व्यावहारिक र आर्थिक सहयोग पुऱ्याएकी थिइन्।

यी उदाहरणहरूले के देखाउँछन् भने, मण्डलीको हित र राज्य विस्तारका लागि पवित्र आत्माले महिलाहरूलाई पनि अगमवाणी गर्ने, सिकाउने, सुसमाचार फैलाउने र व्यवस्थापन गर्ने अचम्मका आत्मिक वरदानहरू दिनुभएको छ। तर ध्यान दिनुपर्ने कुरा के छ भने, यी सबै भूमिकाहरू परमेश्वरले तोक्नु भएको आत्मिक संरचना र छत्रछायाँ भित्रै रहेर पूरा गरिएका थिए।

 

बाइबलमा महिलाहरू ‘पास्टर’ र ‘एल्डर’ को रूपमा नियुक्त भएका छन् कि छैनन्?

नयाँ करार बाइबलमा कुनै पनि महिलालाई स्पष्ट रूपमा ‘पास्टर’ वा ‘एल्डर’ को आधिकारिक पदवी (Title) दिएर नियुक्त गरिएको सीधा वा प्रत्यक्ष प्रमाण नभएता पनि, यदि हामी ‘पदवी’ भन्दा पनि ‘भूमिका र सेवा’ लाई हेर्छौँ भने, प्रारम्भिक मण्डलीमा महिलाहरूले पाष्टर वा एल्डर सरहकै जिम्मेवारीहरू निर्वाह गरेका धेरै शक्तिशाली प्रमाणहरू भेटिन्छन्। जस्तै:

प्रिस्किला – प्रेरित १८:२६: प्रिस्किला र उनका पति अकिलासले मण्डलीका महान्र प्रभावशाली पुरुष वक्ता ‘अपोल्लोस’ लाई आफ्नो घरमा लगेर “परमेश्वरकोमार्ग अझ स्पष्टसँग बताइदिए।” पुरुष प्रचारकलाई धर्मशास्त्रको गहिरो शिक्षा दिनेयो काम ठ्याक्कै पास्टर वा शिक्षकको जस्तै हो।

फिबी – रोमी १६:१: पावलले फिबीलाई किंक्रिया मण्डलीकी “डिकन” (Deacon – सेविका/अगुवा) भनेर परिचय गराएका छन्। मूल ग्रीक भाषामा यो शब्द केवलसेवा गर्ने सामान्य थामी मात्र नभई मण्डलीको एउटा आधिकारिक र जिम्मेवार नेतृत्व पद थियो।

युनियस – रोमी १६:७: पावलले युनियस (जो एक महिला थिइन्) लाई “प्रेरितहरूका बीचमा प्रख्यात” भनेका छन्। प्रेरित हुनु भनेको मण्डलीमा जग बसाल्ने र आत्मिक अधिकार चलाउने सबैभन्दा माथिल्लो स्तरको सेवा हो।

घरका मण्डलीहरू सम्हाल्ने महिलाहरू: पहिलो शताब्दीमा आजको जस्तो मण्डलीका छुट्टै भवनहरू हुँदैनथे, घर-घरमा सङ्गति हुन्थ्यो। कलस्सी ४:१५ मानुम्फास (Nympha) र १ कोरिन्थी १६:१९ मा प्रिस्किलाको घरमा मण्डलीहरू चल्ने कुरा लेखिएको छ। ती घरका मण्डलीहरूको आत्मिक हेरचाह, व्यवस्थापन र नेतृत्व स्वाभाविक रूपमा उनीहरूले नै गर्थे, जसलाई आजको भाषामा हामी ‘पास्टरीय भूमिका’ भन्न सक्छौँ।

यस प्रकार, आधिकारिक पदवी नदिइए तापनि, प्रारम्भिक मण्डली खडा गर्न र सम्हाल्न महिलाहरूले पूर्ण रूपमा पास्टर वा एल्डर सरहकै व्यावहारिक भूमिका निर्वाह गरेका थिए भनी बाइबलले स्पष्ट रूपमा प्रमाणित गर्दछ।

यहाँ बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा के छ भने- आजको आधुनिक मण्डलीहरूमा “पास्टर” लाई मुख्य अगुवा र “एल्डर” लाई उनको मुनिको कमिटीको सदस्य जस्तो मान्ने चलन छ, तर बाइबलको मूल ग्रीक भाषामा यी दुईवटा शब्दहरू एउटै पद र जिम्मेवारीका लागि पालै पालो प्रयोग गरिएका छन्। बाइबलले मण्डलीको मुख्य नेतृत्वलाई बुझाउन तीनवटा ग्रीक शब्दहरू प्रयोग गर्छ, जुन एउटै व्यक्तिको फरक-फरक भूमिकालाई बुझाउन आउँछन्:

१. प्रेस्बुटेरोस (Presbuteros – एल्डर): यसको अर्थ “पाको वा अनुभवी व्यक्ति” हो र यसले अगुवाको आत्मिक परिपक्वता र चरित्रलाई बुझाउँछ।

२. पोइमेन (Poimen – पास्टर/गोठालो): यसको अर्थ ” बगाललाई चराउने गोठालो” हो र यसले अगुवाको काम र जिम्मेवारी (वचन सिकाउने र हेरचाह गर्ने) लाई बुझाउँछ।

३. एपिस्कोपस (Episkopos – निरीक्षक/बिशप): यसको अर्थ “रेखदेख गर्नेवा व्यवस्थापक” हो र यसले अगुवाको प्रशासनिक भूमिकालाई बुझाउँछ।

यसको स्पष्ट बाइबलीय प्रमाण तीतस १:५-७ मा पाइन्छ, जहाँ पावलले तीतसलाई सहर-सहरमा “एल्डरहरू” (Presbuteros) नियुक्त गर्नू भन्छन् रलगत्तै पद ७ मा तिनै एल्डरहरूलाई “निरीक्षक/बिशप” (Episkopos) भनी सम्बोधन गर्छन्। त्यसै गरी १ पत्रुस ५:१-२ मा पत्रुसले मण्डलीका अगुवाहरूलाई भन्छन्—”तिमीहरूका बीचमा भएका एल्डरहरूलाई (Presbuteros) म… अनुरोध गर्दछु: तिमीहरूको रेखदेखमा रहेको परमेश्वरको बगाललाई पास्टरले जस्तै चराउने काम गर (Poimen) र तिनीहरूको रेखदेख (Episkopos) गर।” यहाँ पत्रुसले एउटै वाक्यमा एल्डर, पास्टर र निरीक्षक तीनवटै शब्द प्रयोग गरेर ती सबै एउटै जिम्मेवारी हुन् भनी स्पष्ट पारेका छन्।

 

एफिसस मण्डलीको विशेष समस्याबारे पावलका कडा भनाइहरूका ऐतिहासिक सन्दर्भ र वास्तविक अर्थ:

प्रेरित पावलले महिलाहरूका विषयमा लेखेका कतिपय खण्डहरू, जस्तै: चुपलाग्नु, पुरुषलाई सिकाउने अनुमति नदिनु, र हव्वा पहिले बहकिएको (१ तिमोथी२:११-१४) प्रसङ्ग बुझ्नका लागि त्यस समयको ऐतिहासिक पृष्ठभूमि (Context) हेर्नु अनिवार्य हुन्छ। विशेष गरी मण्डलीमा महिलाहरूको अगुवापन र भूमिकाको सन्दर्भमा यो भाग प्रायः विवादित भएको, गलत व्याख्या गरिएको र गलत अर्थ निकालिएका खण्डहरू अन्तर्गत पर्दछ। यस खण्डको वास्तविक र सही अर्थलाई बुझ्नका लागि तलका तीनवटा मुख्य बुँदाहरू र तिनका सम्बन्धित पदहरूलाई ध्यान पूर्वक हेर्नु आवश्यक छ:

 

क) “तर महिलाले पुरुषलाई सिकाउने र पुरुषमाथि अधिकार जमाउने काममा म अनुमति दिन्नँ, तर तिनी चूपचापै रहून्‌।”

(१ तिमोथी २:१२)

पावलले यो पत्र एफिसस मण्डलीमा सेवा गरिरहेका आफ्ना जवान चेला तिमोथीलाई लेखेका हुन्। त्यस समयको एफिसस सहर ‘डायना देवी’ को मन्दिरकालागि प्रसिद्ध थियो, जहाँ महिला पुजारिनीहरूको मात्र वर्चस्व हुन्थ्यो र उनीहरूले पुरुषहरूमाथि कडा शासन गर्थे। मण्डलीभित्र पनि कतिपय नयाँ विश्वासी महिलाहरू उचित बाइबलीय जग र ज्ञानबिना नै मण्डलीमा आफैलाई” आधिकारिक शिक्षक” घोषणा गर्दै झूटो शिक्षा फैलाउन खोज्दै थिए।(१ तिमोथी१:३)

त्यसैले पावलले १ तिमोथी २:१२ मा कडा शब्दमा भने—”म महिलालाई सिकाउने वा पुरुषमाथि अधिकार जमाउने अनुमति दिन्नँ।” यहाँ पावलले सधैँका लागि महिलालाई रोकेका होइनन्, तर उचित ज्ञानबिना सिकाउन खोज्ने त्रुटिलाई सच्याउन खोजेका हुन् (जब कि प्रिस्किला जस्ता परिपक्व महिलाले पुरुषलाई सिकाएका उदाहरण प्रेरित १८:२६ मा छ)। अझ, “अधिकार जमाउने” भन्नका लागि मूल ग्रीक बाइबलमा ‘अथेन्टेन’ (Authentein) शब्द प्रयोग गरिएको छ, जसको अर्थ साधारण अगुवापन होइन, तर “बलपूर्वक नेतृत्व हडप्नु” वा “हिंस्रक रूपमा नियन्त्रण गर्नु” हो। डायना देवीको मन्दिरको त्यही मूर्तिपूजक र अधिनायकवादी शैलीमा नयाँ महिलाहरूले मण्डलीका एल्डरहरूमाथि प्रभुत्व जमाउन खोजेर भद्रगोल मच्चाएका हुनाले पावलले यो कडा कदम चाल्नु परेको थियो।

 

ख) “महिलाले पूर्ण दीनतासाथ चूपचाप बसेर सिकून्‌।” १ तिमोथी २:११

यस पदमा “चुप लाग्नु” भन्नाले महिलाहरूले मण्डलीमा बोल्दै नबोल्नु भन्ने होइन, किनकि पावल आफैले १ कोरिन्थी ११:५ मा महिलाहरूले मण्डलीमा प्रार्थना र अगमवाणी गर्ने नियम र मर्यादा बताएका छन्। यहाँ यसको वास्तविक अर्थ “शान्तभावले र पूर्ण अधीनतामा रहन सिक्नु” (Quietness/Teachability) हो, अर्थात् मण्डलीको शिक्षालाई मर्यादामा रहेर एउटा असल विद्यार्थी जस्तै ग्रहण गर्नु।

 

ग) “किनभने आदम नै पहिले सृजिएका हुन्, त्यसपछि हव्वा।” १ तिमोथी २:१३

“हव्वा पहिले बहकिएकी हो” को अर्थ महिलाहरू पुरुषभन्दा कमजोर वा सजिलै मूर्ख बन्ने जात हुन् भन्ने होइन। पावलले यहाँ उत्पत्ति ३:१-६ मा भएको अदनको बगैँचाको ‘भूमिकाको विपरीत’ (Role Reversal) भूमिकालाई औंल्याइ रहेकाछन्। शैतानले आदमको नेतृत्वभन्दा बाहिर गएर हव्वासँग कुरा गऱ्यो र हव्वाले आफ्नो आत्मिक छत्रछायाँ (आदम) सँग परामर्श नगरी आफै निर्णय लिइन् र बहकिइन्। एफिससका महिलाहरूले पनि पर्याप्त ज्ञानबिना आफै निर्णय लिएर त्यही गल्ती नदोहोऱ्याऊन् भनेर पावलले यो उदाहरण दिएका हुन्।

त्यसैले, पावलले सम्झाउन खोजेका मुख्य कुरा यो हो कि—परमेश्वरले तोक्नुभएको आत्मिक क्रम र छत्रछायाँभन्दा बाहिर गएर अधिकार चलाउन खोज्दा मण्डली वा परिवार बहकिने र गलत दिशामा जाने जोखिम सधैँ रहन्छ।

 

घ) “अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्का, न त पुरुष न महिला छ, किनभने ख्रीष्ट येशूमा तिमीहरू सबै एउटै हौ।” गलाती ३:२८

“ख्रीष्टको श्रद्धामा एक-अर्काको अधीनमा बस।” एफिसी ५:२१

१ तिमोथी २ को खण्डलाई लिएर मण्डलीमा दुईवटा मुख्य दृष्टिकोणहरू ‘समानतावादी’ (Egalitarian) र ‘पूरकवादी’ (Complementarian) बिच अक्सर बहस हुने गर्छ र कतिपय पदहरूको गलत बुझाइले गर्दा यो विवाद बढेकोहो। उदाहरणका लागि, गलाती ३:२८ (“ख्रीष्ट येशूमा न त पुरुष हुन्छ, न महिला…”) लाई देखाएर कतिपयले लिङ्गको आधारमा सबै भूमिकाहरू पूर्णरूपमा एउटै हुनुपर्छ भन्ने तर्क गर्छन्। तर पावलको वास्तविक आशय ख्रीष्टमा महिला र पुरुषको आत्मिक हैसियत र मुक्तिको स्तर (Spiritual Status) समानछ भन्नु हो, मण्डली र परिवारको सुव्यवस्था (Order) र भूमिकालाई मेटाउनु होइन।

त्यसै गरी, एफिसी ५:२१ को “एक-अर्काको अधीनमा बस” भन्ने पदलाई लिएर पनि अस्पष्टता पाइन्छ। बाइबलले ख्रीष्टियान जीवनमा पारस्परिक आदर र अधीनता (Mutual Submission) लाई जोड् दिन्छ, जसको अर्थ पुरुषले महिलामाथि क्रूर तानाशाह वा शासक बन्ने अधिकार पाउनु होइन। बरु, पति वा पुरुषको नेतृत्व भनेको ख्रीष्टले मण्डलीलाई गर्नुभएको जस्तो “त्यागी प्रेम, सेवा र सुरक्षा दिने गोठालो” को भूमिका हो। जहाँ बाइबलीय सन्तुलन बुझिन्छ, त्यहाँ महिलाहरू थिचोमिचोमा पर्दैनन्, बरु मण्डली र परिवार दुवैमा अझ बढी सुरक्षित, सम्मानित र आदरणीय स्थानमा रहन्छन्।

 

पास्टरीय नेतृत्व र पुरुषको आत्मिक छत्रछायाँ:

“पास्टर” शब्दको व्याकरण, योग्यता र कार्य-सीमा: बाइबलीय र भाषिक दृष्टिकोणबाट हेर्दा “पास्टर” (भेडा गोठालो) शब्द आफैमा एउटा पुरुषवाचक संज्ञा हो। नयाँ करारको मूल ग्रीक भाषामा यसका लागि प्रयोग गरिएका शब्दहरू व्याकरणको हिसाबले पुलिङ्ग (Masculine) छन्। केवल भाषिक रूपमा मात्र नभएर, नयाँ करारका पत्रहरूमा पास्टर वा एल्डर बन्नका लागि तोकिएका आत्मिक योग्यताहरूमा पनि स्पष्ट रूपमा पुरुषवाचक शब्दहरू नै प्रयोग गरिएका छन्। उदाहरणका लागि:

“यदि कोही एल्डर [पास्टर] बन्न चाहन्छ भने… उनी एउटै पत्नीका पति हुनुपर्छ…” १ तिमोथी ३:२

बाइबलको यो खण्डले मण्डलीको मुख्य शासकीय र गोठालोको भूमिकामा पुरुष नै हुनुपर्ने कुरालाई अकाट्य रूपमा जोड् दिन्छ। यही बाइबलीय सिद्धान्तका आधारमा, मण्डलीमा महिलाहरूले सहायक पास्टर वा सहयोगीको रूपमा महत्त्वपूर्ण जिम्मेवारीहरू सम्हाले तापनि उनीहरूको कार्य-सीमा र अधिकारको एउटा स्पष्ट परिधि तोकिएको हुन्छ।

महिलाहरूले मण्डलीका विभिन्न विधामा अगुवापन गर्न सक्ने भए तापनि, बाइबलले मण्डलीको अन्तिम प्रशासनिक निर्णय, जग बसाल्ने कार्य र पास्टरीय(भेडा गोठालोको) मुख्य जिम्मेवारी भने पुरुषलाई नै सुम्पेको छ।

अधिकार र जिम्मेवारीको क्रम: १ कोरिन्थी ११:३ मा पावलले लेख्छन्: “तर म तिमीहरूले यो बुझेको चाहन्छु: हरेक पुरुषको शिर ख्रीष्ट हुनुहुन्छ, रमहिलाको शिर पुरुष हो, अनि ख्रीष्टको शिर परमेश्वर हुनुहुन्छ।”

मण्डलीको सुव्यवस्था: १ तिमोथी २:१२ मा पावल भन्छन्- ” तर महिलाले पुरुषलाई सिकाउने र पुरुषमाथि अधिकार जमाउने काममा मअनुमति दिन्नँ, तर तिनी चूपचापै रहून्‌।”

बाइबलीय र व्यावहारिक दृष्टिकोणबाट हेर्दा, महिलाहरूको स्वभावमा परमेश्वरले नै एउटा विशेष कोमलता, संवेदनशीलता र करुणा राखि दिनुभएको छ, जुन परिवारर मण्डलीको आन्तरिक हेरचाहका लागि आशिष्‌को कुरा हो। तर कतिपय अवस्थामा यही कोमलता र भावनामा चाँडै अभिप्रेरित हुन सक्ने स्वभावका कारण, मण्डलीका ठुला प्रशासनिक निर्णयहरू, कडा अनुशासन सम्बन्धी कदमहरू वा गम्भीर व्यवस्थापकीय निर्णयहरू लिँदा जोखिम हुन सक्छ।

त्यसैले, परमेश्वरको सुरक्षाको नियम यो हो कि- महिलाले न्यायकर्ता, अगमवक्ता, एल्डर, डिकन, शिक्षिका वा प्रचारकको रूपमा आफ्ना सम्पूर्ण आत्मिक वरदानहरू पूर्ण स्वतन्त्रताका साथ प्रयोग गर्न सक्छन्, तर पुरुष मुख्य अगुवाको आत्मिक नेतृत्व र छत्रछायाँमा रहेर मात्र।

वर्तमान मण्डलीको व्यावहारिक अभ्यासलाई हेर्दा, यही सुरक्षाको परिधिभित्र रहेर महिलाहरूले ‘सहायक पास्टर’ (Assistant Pastor) को रूपमा मुख्य पास्टरको गम्भीर व्यवस्थापकीय र आत्मिक ओतमुनि बसी मण्डलीको एउटा ठूलो हिस्सालाई कुशलतापूर्वक सम्हालिरहेका छन्। यस सहायक भूमिकामा रहँदा वा मुख्य पास्टरको सहयोगी बन्दा, एक महिलाले मण्डलीका प्रायः सबै सेवाहरू सम्हाल्न सक्छिन्; तर मण्डलीको मुख्य खम्बा र शासकीय अधिकारसँग जोडिएका विशेष आत्मिक संस्कारहरू- जस्तै विवाह गराउने, मृत्यु संस्कार (अन्त्येष्टि) गर्ने, बप्तिस्मा दिने र प्रभुभोज (Sacraments) सञ्चालन गर्ने जस्ता मुख्य कार्यहरूबाहेक अन्य सम्पूर्ण आन्तरिक र व्यावहारिक कार्य सेवाहरू उनले सहजै गर्न सक्छिन्। तर यी विशेष संस्कारका कार्यहरू मुख्य पास्टर आफैँले नै गर्नुपर्छ।

त्यसै गरी, वर्तमान मण्डलीमा ‘पास्टरकी पत्नी’ (पास्टरनी आमा) को भूमिका झन् विशिष्ट र व्यावहारिक देखिन्छ। उनले मण्डलीमा कुनै आधिकारिक प्रशासनिक पद नलिँदा पनि, पास्टरको मुख्य सहयोगी (Helpmeet) भएर मण्डलीका महिलाहरू, सङ्गतिहरू र आन्तरिक आत्मिक समस्याहरूको हेरचाह र परामर्श (Counseling) मा एउका बलियो खम्बाको रूपमा काम गरिरहेकी हुन्छिन्। यसरी, मुख्य पास्टरको आत्मिक नेतृत्वलाई पूर्ण आदर गर्दै, सहायक पास्टर वा पास्टरनी आमाको रूपमा महिलाहरूले मण्डलीलाई जगैदेखि बलियो बनाउन अतुलनीय योगदान दिइरहेकाछन्।

 

निष्कर्ष: एकताबद्ध र शक्तिशाली मण्डली

मण्डलीमा पुरुष र महिलाको भूमिकाको यो वर्गीकरण कुनै सानो र ठुलोको लडाइँ होइन, न त महिलाहरूलाई दोस्रो दर्जाको नागरिक बनाउने प्रयास नै हो। यो त केवल मण्डली र परिवारलाई सुरक्षा दिने ईश्वरीय सुव्यवस्था हो। जसरी पति र पत्नी मिलेर एउटा आदर्श परिवार बन्छ, त्यसै गरी मण्डलीमा पनि… पुरुषको बलियो, त्यागपूर्ण नेतृत्व र महिलाको शक्तिशाली, सिर्जनात्मक पूरक भूमिका मिलेर मात्र परमेश्वरको काम पूरा हुन्छ।

नयाँ करार अनुसार आत्मिक रूपमा आराधना चढाउने कुरामा सबै विश्वासीहरू(पुरुष र महिला दुवै) “राजकीय पूजाहारी” (१ पत्रुस २:९: “तर तिमीहरू त चुनिएकावंश, राजकीय पूजाहारीहरू…”) भए तापनि, मण्डली सञ्चालन र अन्तिम निर्णयगर्ने जिम्मेवारीमा परमेश्वरको नियम स्पष्ट छ। जब पुरुषले ख्रीष्टको जस्तो जिम्मेवार नेतृत्व लिन्छन् र मण्डलीका दिदी-बहिनीहरूलाई उनीहरूको वरदान अनुसार सेवकाइ गर्न प्रोत्साहन दिन्छन्, तब मण्डली सुरक्षित र सुव्यवस्थित रहन्छ। पुरुष मुख्य अगुवाको रूपमा दृढताका साथ उभिँदा र महिलाहरू कोमलता एवं विश्वास योग्यताका साथ सेवकाइमा जोडिँदा नै मण्डलीमा परमेश्वरको महिमा प्रकट हुन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button