राना थारु समुदायबाट पहिलो पटक नारदमुनी राना मन्त्रीको जिम्मेवारीमा

काठमाडौं, जेठ २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहिबार मन्त्रिपरिषद विस्तार गर्नुभएपछि राना थारुसमुदायबाट पहिलो पटक नारदमुनी राना पूर्ण मन्त्रीबन्नुभएको छ । यसअघि कोही पनि राना समुदायबाटपूर्णमन्त्री बनेको इतिहास छैन ।

कैलाली क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रानालाई प्रधानमन्त्री ओलीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । रानाले २०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको धर्मपत्नी डा. आरजु देउवा राणालाई भारी मतले पराजित गरेर विजय सुनिश्चित गर्नुभएको थियो । कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेको राना थारु समुदायले आफूमाथि न्याय भएको प्रतिक्रिया दिएका छन् ।

नेपाल राना थारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले समुदायले पहिलो पटक मन्त्री प्राप्त गरेकोमा समुदाय उत्साहित भएको बताउनुभयो । “प्रधानमन्त्री केपी शर्मा ओली र उहाँको दल एमालेलाई हाम्रो समाजको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छौं, उहाँले हाम्रो समुदायलाई अवसर प्रदान गर्नुभयो” अध्यक्ष रानाले भन्नुभयो । राना समुदाय दुई वर्षअघि मात्र थारु समुदायबाट अलग भएर आदिबासीमा सूचीकृत भएको थियो । त्यसको नेतृत्व पनि नारदमुनी रानाले गर्नुभएको उहाँले स्मरण गर्नुभयो ।

यसअघि कञ्चनपुर देखतभुलीका लबरु राना थारु पाँच पटक सहायक मन्त्रीको जिम्मेवारीमा आउनुभएको थियो । वि.सं. २०३१ सालमा नगेन्द्रप्रसाद रिजालको प्रधानमन्त्रीकालमा रानाथारु सहायक वन मन्त्रीको जिम्मेवारीमा हुनुहुन्थ्यो । त्यसपछि २०३२ सालमा गठित डा. तुलसी गिरीको प्रधानमन्त्रीकालमा रानाथारु भूमिसुधार सहायक मन्त्रीको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

सोहीअनुसार २०३३ साल भदौमा मन्त्रीपरिषद हेरफेर भएपछि लबरु रानाथारु निर्माण तथा यातायात सहायक मन्त्रीको जिम्मेवारीमा आउनुभएको थियो । त्यस्तै २०४० साल असारमा लोकेन्द्रबहादर चन्द प्रधानमन्त्री भएकाबेला उहाँको कार्यकालमा रानाथारु भूमिसुधार राज्यमन्त्रीको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । पुनः २०४१ साल असोजमा पुनर्गठित मन्त्ररिषदमा लवरु रानाथारु पुनः भूमिसुधार राज्यमन्त्रीको जिम्मेवारीमा आउनुभएको थियो ।

मुलुकमा २०४६ सालमा प्रजातन्त्रको बहाली भएपछि रानाथारु समुदायबाट कोही मन्त्रीको जिम्मेवारी पाउनुभएको थिएन । समुदायको तर्फबाट ३७ वर्षपछि मन्त्रीको जिम्मेवारीमा आउनुभएका रानालाई अवसर चुनौति दुवै रहेको राना थारु समाजका अध्यक्ष कृपाराम रानाले बताउनुभयो । वन तथा वातावरणजस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी प्राप्तभएकाले इमान्दारितापूर्वक काम गरेर सबैको मन जित्ने अवसर मन्त्रीलाई रहेको उहाँले बताउनुभयो ।

धनगढी उपमहानगरपालिका ८, मा २०२९ वैशाख १९ मा जन्मनुभएका मन्त्री रानाथारु २०६४ सालमा संविधानसभा सदस्य हुनुहुन्थ्यो । २०५४ सालको निर्वाचनबाट उहाँ धनगढी उपमहानगरपालिकाको उपप्रमुख निर्वाचित हुनुभएको थियो । नेकपा (एमाले) को सुदूरपश्चिम सहइन्चार्ज तथा कैलाली जिल्ला इन्चार्जको जिम्मेवारीमा रहनुभएका मन्त्री राना राजनीति शास्त्रमा स्नातकोत्तर हुनुहुन्छ । साभारः गोर्खापत्र अनलाइन

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button