बालेन शाहले निश्चित धर्मका ७ शङ्खनाद, १०८ बटुक र १०८ बौद्ध भिक्षुद्वारा पूजापाठ गराएर प्रधानमन्त्रीको शपथ लिने

बालेन शाहले निश्चित धर्मका ७ शङ्खनाद, १०८ बटुक र १०८ बौद्ध भिक्षुद्वारा पूजापाठ गराएर प्रधानमन्त्रीको शपथ लिन लागेको खबरले बहुधार्मिक मुलुकमा केही अल्पसङ्ख्यक धार्मिक समूहहरूमा उपेक्षित महसुस हुनु स्वाभाविक हो। यस्ता क्रियाकलापले ‘सबैका प्रधानमन्त्री’ भन्ने छविमा केही संशय पैदा गर्न सक्छ।
धर्मनिरपेक्ष राष्ट्रमा राज्य कुनै खास धर्मतर्फ झुकेको देखिँदा नागरिक स्तरमा बहस र तर्कवितर्क उत्पन्न हुनु सामान्य हो। यस्ता कार्यले सामाजिक मूल्यमान्यतामा विभाजन ल्याउनुका साथै सामाजिक सन्तुलनमाथि प्रश्न उठ्नु नौलो कुरा होइन।
हुन त डोनाल्ड ट्रम्पले बाइबल छोएर पास्टरहरूको आशीर्वाद लिएकै हुन्, र धेरै पश्चिमा देशहरूमा यस्तो अभ्यास देखिन्छ। कुन धर्म वा कुन विधि प्रयोग गरियो भन्नुभन्दा पनि यसले भोलि कस्ता नतिजा दिन्छ भन्ने कुरामा बढी ध्यान दिनुपर्छ। जनताका लागि सुशासन, विकास र न्याय प्राथमिक विषय हुन्। यदि उनको कार्यकालले सबै नागरिकलाई समान अवसर र सुरक्षा प्रदान गर्छ भने, शपथको विधि ठूलो समस्या बन्ने छैन।
बहुमतले अल्पसङ्ख्यकलाई र बलियाले कमजोरलाई थिचेर अघि बढ्नु संसारको नियमजस्तै देखिए तापनि, कमजोर र अल्पसङ्ख्यकले आफ्ना अधिकार र आत्मसम्मानको सीमा स्पष्ट रूपमा बुझ्न र स्थापित गर्न सक्नुपर्छ। जनताले राज्यको हरेक कार्यप्रति आफ्नो आत्मसम्मान र अधिकारका लागि सचेत हुन र प्रश्न उठाउन छोड्नुहुन्न। स्वस्थ आलोचना र प्रश्न नै लोकतन्त्रलाई जीवित राख्ने कडी हो।
#shrawanbomjan


