इसाईको शवलाई जलाइनु हुँदैन गाडिनु पर्छ। पाष्टर गिदोन लामिछाने

असल इसाईको शवलाई जलाइनु हुँदैन गाडिनु पर्छ ।

पा. गिदोन लामिछाने

आत्मा र शरीरको सम्बन्ध विच्छेद भएपछि मानिसको प्राण अन्त्य हुन्छ र मानिस मृत बन्दछ । मृत मानिसको शवलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा जिउँदा मानिसहरुमा भर पर्छ । उनीहरुको दर्शन, धर्म, संस्कार, संस्कृति र विधि अनुसार दाहसंस्कार गर्ने गर्छन । संसारभरका मानिसहरुले मृत शरीर (शव) लाई व्यवस्थापन गर्दा जलाउने या गाड्ने मध्ये एक रोज्दछन् । विश्वका थोरै संख्यामा रहेका मानिसहरुले भने फ्यालीदिने पनि गर्छन् । नेपालको सन्दर्भमा धार्मिक समुदाय अनुसार शवलाई व्यवस्थापन गर्ने चलन छ । हिन्दुहरुले परम्परादेखि जलाउँदै आएका छन् । इसाई, बुद्धिष्ट, किरात, मुस्लिम आदि समुदायले शवलाई गाड्ने गरेका छन् । पछिल्लो समयमा ठुलठुला शहरमा गैरहिन्दुहरुले पनि शवलाई गाड्न ठाउँ नभएको भन्दै जलाउन समेत शुरुवात गरेका छन् । पछिल्लो समय इसाई समुदायमा समेत मृत शरीरलाई व्यवस्थापन गर्न जलाउन थालिएपछि इसाई समुदायमा बहस शुरु भएको छ कि ‘इसाईको शवलाई जलाईनु हुँदैन गाड्नु पर्छ’ भन्ने विषयमा पाइए।ईश्वर मान्नेहरु आस्तिक हुन् र ईश्वर नमान्नेहरु नास्तिक हुन् । नेपालमा आस्तिक हुन् वा नास्तिक सबैले शवको व्यवस्थापन गर्छन् । अझ अहिलेको समयमा त हिमाली क्षेत्रमा होस् या तराई सबै क्षेत्रमा शवलाई व्यवस्थापन गरिन्छ । त्यसरी व्यवस्थापन गर्दा मृतक तथा उनका परिवारको आस्थाअनुसारको संस्कारद्धारा दाहसंस्कार गर्ने गरिन्छ । संस्कार गर्दा कुनै विधि (तरिका) हुन्छ ।

हामीले यहाँ इसाईहरुको मृत्यु संस्कारका विषयमा चर्चा गर्न लागेका छौं । इसाईहरुको मृत्यु संस्कारमा एकरुपता नै छ । प्रायः इसाईहरु स्थानीय चर्चको सदस्य बनेका हुन्छन् र सदस्य इसाईको मृत्यु भएपछि उनको शवलाई मण्डली परिवारले घरका मानिसहरुको समन्वयमा व्यवस्थापन गर्ने गर्छ । मृतकलाई घर वा मण्डलीमा लगिन्छ । त्यहाँ प्रार्थना गर्दै मृत्यु सम्बन्धी भजन तथा कोरसहरु गाइन्छ । जीवन र मृत्युका विषयमा पवित्र धर्मशास्त्र बाइबलबाट मण्डलीका धर्मगुरु तथा अगुवाहरुले बचन बोल्दछन् । उक्त समयमा मृतक मानिसको संक्षिप्त जीवनी सुनाइन्छ र घरपरिवार, मण्डली तथा शुभचिन्तक छरछिमेकी सहित उसको शवलाई दाहसंस्कार स्थलमा पु¥याइन्छ । शवलाई त्यहाँ पु¥याउनु अघि नै खाल्डो खनिन्छ । खाल्डोमा पु¥याएपछि पुनः प्रार्थना, भजन र बचनद्धारा अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै आदर, इज्जत र मर्यादापूर्वक गाडिन्छ जसलाई “दफन” कार्य भनिन्छ । त्यसपछि मृतकको घरमा आवश्यकता अनुसार सान्तवनाको संगति दिइन्छ । यहि नेपाली इसाईहरुको मृत्यु संस्कार हो ।

तर, यस मुल्यमान्यता विरुद्ध पछिल्लो समयमा नेपाली इसाई समुदायमा ‘मृतकको चाहना र परिस्थिति अनुसार दहन गर्दा पनि हुन्छ, बाइबलले जलाउने कि गाड्ने भनेर निर्देशन गरेको छैन त्यसैले परिस्थिति जस्तो छ त्यस्तै गर्नुपर्छ, माटोको शरीर माटोमा नै जाने भनिकोले जलाउँदा खरानी बन्छ, गाड्दा कुहिन ढिलो हुन्छ त्यसैले जलाउँदा छिटो माटोमा घुल्न पुग्छ र मरेको शरीर गिद्धलाई खान दिए पनि हुन्छ ।’ भन्ने सम्मका तर्क प्रस्तुत गरिए । त्यसबाट नेपाली इसाई समुदायमा ठूलो भ्रम सृजना भएको छ । साधारण इसाईहरुमा अगुवाहरुबाट सृजना गरिएको भ्रमलाई अझ केहि बुद्धिजीवि, बौद्धिक र लेखक, पत्रकारहरुले समेत भ्रम सृजना गरिदिएका छन् । यसले इसाई समुदायमा दुईखाले विचारको प्रतिपादन गरिदिएको छ । एउटा समूह ‘बाइबलको विश्वास अनुसार कार्य गर्नुपर्छ’ भनिरहेको छ भने अर्को समूह ‘समय र परिस्थिति अनुसार चल्नुपर्छ’ भनेर जिद्धि गरिरहेको छ र आफ्ना समूहका मानिसहरुलाई कन्भिन्स गरिरहेको छ । यदि यी दुवै समूहका बिचार अझै फुल्न दिइरहने हो भने ‘तपाई गाडिने कि जलाइने’ इसाई भनेर विभाजित हुने अवस्था सृजना हुनेछ । त्यसैले हामीले इसाईको दाहसंस्कार गर्दा शवलाई जलाउने कि गाड्ने भन्ने विषयमा स्पष्ट हुन पवित्र धर्मशास्त्र बाइबलको सार शिक्षालाई अनुकरण गर्नुपर्छ ।

बाइबलमा अपवादबाहेक मानिसको मृत्युपछि गाड्ने व्यवस्था छ तर आत्महत्या, पाप, द्धन्द्ध वा दण्डका कारण केहिलाई जलाइएको घटना पनि छ । एउटा असल सेवकको मृत्युपछि उसको मृत शरीरलाई जलाउनु उचित होइन । श्रद्धापूर्वक गाडिनु पर्छ ।

मृत्यु संस्कारका विषयमा बहस नै गर्नुहुन्न, यो विषय अनावश्यक हो, मरेको शरीरलाई गिद्धलाई खान दिए पनि केहि फरक पर्दैन भन्नु र जे गरेपनि हुन्छ भन्नु भनेको इसाई समुदायप्रतिको गैरजिम्मेवारीपन हो । नेपालका प्राय मण्डलीहरु सम्प्रदाय, समाज, संघ, महासंघ तथा संस्थाहरुमा आवद्ध छन् । केहिमात्र स्वतन्त्र छन् । त्यसैले चर्चका सदस्यहरुको मृत्यु हुँदा जे गर्दा पनि हुन्छ भन्नु उचित हुँदैन । किनकी जहाँ समूह वा समुदाय, समाज हुन्छ त्यहाँ निश्चित नीति नियम, विधि विधान हुन्छ । बरु यो तर्क त जो स्वतन्त्र रुपमा कुनै संघसंस्थासँग आवद्ध नभई सेवाकाई गरिरहेका मण्डलीहरुले गर्ने तर्क हो । स्वतन्त्र मण्डलीहरुले पनि बाइबलको बचन विरुद्धका गतिविधि गरेको अवस्थामा निश्चय नै बिरोध आउँछ त्यो स्वभाविक हो । मृत्यु सबैका लागि निश्चित छ, ढिलो चाडोमात्र फरक हो । एसाई अनन्त जीवनका यात्री हुन् । बाइबलले भन्छ, ‘मृत्युको दिन जन्मेको दिनभन्दा उत्तम हो ।’ यद्यपी मानिस शरीरमा हुँदा समेत धेरै बाच्ने हरपल कोशिष गर्दछ । किनकी यो संसारसँग उसको साइनो छ । मानिसले संसार छोड्दा उसको परिवार, मण्डली, समाज र राष्ट्रले छोडिजानेहरुका विषयमा विलाप गर्दछन् यो आवश्यकता र उनीहरुको अधिकार पनि हो । भोलीको दिन के हुन्छ भन्ने कसैलाई थाह छैन । जति बाचिन्छ त्यो जीवन असल ढंगले जिउन कोशिष गर्नुपर्छ । नासवान शरीर हो, अविनाशी आत्मा छ । आत्मामा बाँचेकाहरुसँग निश्चय नै फेरी भेट हुनेछ । मृत्यु सानो मान्छे र ठुलो मान्छेको फरक हुँदैन । मर्नेहरु त मरेर गइजान्छन्, बाच्नेहरुले आफुले पाएको आयु पुरा सदुपयोग गर्नुपर्छ ।

निदाएको मान्छेलाई ब्युताउन सजिलो हुन्छ तर बहाना गरेर सुतेको मान्छेलाई उठाउन निकै गारो हुन्छ । इसाई हुनु भनेको जसलाई मनमा जे गर्न मन लाग्छ त्यहि गर्न पाउने स्वतन्त्रता हो भनेर बुझ्नु पनि ठिक होइन । निश्चित विधि, प्रक्रिया र अनुशासनमा रहन सक्नुपर्छ । संसारकै ढाँचामा चलेर उनीहरुले मानिआएका परम्परा र संस्कृतिलाई पछ्याउँदै ख्रीष्टको नाम कलंकित पार्नु हुँदैन । इसाई हुनु भनेको जीवनशैली परिवर्तन हुनु हो । जस्तो मादल बज्यो त्यस्तै नाच्ने हो भने त्यो पहिचान विहिन हुनेछ त्यस्तो आत्मास्वाभिमान विनाको धर्म संस्कृतिको परिकल्पना गर्न सकिन्न । इसाईको लाशलाई जलाउनु भनेको परधर्मको प्रभाव हो । कफिन बक्स घाटमा लगेर जलाउने कि शवबहानसँगै फर्काएर घरमा ल्याउने ? जलाउने ठाउँमा दाउरा दिनुपर्छ तर माटो चितामाथि लगाउँदा सुहाँउदैन । अब विस्तारै विस्तारै कसैकसैलाई चर्चको नाममा मन्दिर लेख्न मन लाग्ला के त्यो सम्भव होला ? विजनेशका निम्ति धर्मप्रचार गर्नेहरुले आफ्नो दुनो सोझ्याउन कल्चरअनुसार सुसमाचार प्रचार गर्नुपर्छ भन्लान् । नेपालमा मृतकका परिवारलाई तेह्रदिने बार्न लगाउने, कपाल खौरिने, सेतै लुगा लगाएर वर्षदिन सम्म पूर्ण रुपमा जुठो बार्न दिने अनि बाइबल पढेर सुनाउने भन्न पनि सक्लान् के यस्तो कुरा सम्भव होला ? अहँ एउटा असल इसाईले त्यस्तो परिकल्पना गर्न सक्दैन र त्यस्तो सम्झौता गर्नु पनि हुँदैन ।

हामीले कन्फ्युजन होइन स्पष्ट भिजन दिनुपर्छ । कतिले लाशलाई गिद्धलाई खुवाउने कुरा गर्छन् त्यस्ता कुरा नेपाली इसाई समुदायले सोच्न पनि हुँदैन । मरेको मान्छे केहि होइन भनेर कसैको अपमान गर्नुहुँदैन, उसलाई सम्मानपूर्वक दाहसंस्कार गरेर विदाई गर्नुपर्छ, यी सबै मृतकका लागि होइन जिउँदाहरुका लागि उदाहरण र गवाही हो । गवाही विगार्नु हुँदैन । इसाईहरुको मृत्यु संस्कार दफन गर्ने (गाड्ने) चलन थियो तर जलाउने काम हुनु ठिक हुँदै होइन । गाड्ने ठाँउ नै भएन, शवलाई व्यवस्थापन गर्ने विकल्पै भएन त्यसकारण जलाउने भन्ने तर्क अलग्गै हो । तर अहिले प्राय चर्चहरुले, इसाई समाजहरुले दफनकै लागि जग्गा रोकेको पनि पाइन्छ । सामुदायिक बन, खोला क्षेत्र र जंगलमा शब राख्ने व्यवस्था छ । शवदाह गर्ने स्थलको चिन्ता गर्नु स्वभाविक हो र त्यसको व्यवस्थापन गर्नु आवश्यक पनि छ र त आज नेपाली इसाईहरु जहाँ घनारुपमा बसोबास गर्छन् र उनीहरुले चिहान नपाउँदा सरकारसँग समेत दफन स्थलको माग गर्नु परेको छ । यो आवश्यकता पनि हो । तर यहाँ कोही सरकारसँग दफन स्थलको माग गरिरहँदा त्यो माग जायछ छैन भन्दै प्रमाणित गराउन शवलाई जलाई दिने, कोही सरकारसँग माग्ने होइन सरकारलाई दिने हो भनेर दफन स्थल घोषणा गर्दा त्यसबाट पनि अत्तालिएर जलाउनु भनेको राजनीति भएन र ? नेपाली मण्डलीमा यस्तो घिनलाग्दो राजनीति हुन थालेपछि के इसाई क्षेत्रमा त्यो सम्भव होला ? त्यसैले बाइबलीय संस्कारका विरुद्धमा आफुखुशी परिस्थितिको दोष लगाएर परधर्मको सिको गर्नु भनेको आत्मघाति कदम हो ।

वास्तवमा जलाउने वा गाड्ने कुराले स्वर्ग जाने वा नर्क जाने भन्ने कुराको फैसला त गर्न सकिन्न किनकी जिउँदो हुँदा उसले गर्ने विश्वासमा भर पर्छ । तर विश्वासीहरुले गर्ने हरेक क्रियाकलापले समुदायमा गम्भिर असर पारेको हुन्छ । मर्नेलाई दाह संस्कारले कुनै असर गर्दैन तर जिउँदाहरुको लागि यो महत्वपूर्ण विषय हो । जे गरेपनि भइहाल्छ नि भन्ने अवस्था रहन्न । के गर्दा उचित हो भनेर यसरी सार्वजनिक रुपमा बहस गर्दा सबैको पहुँच पुग्छ । मान्छेको आत्मिक जीवनमा यस्तै घटना र विचारहरुले प्रभाव पार्ने हो । पवित्र बाइबल अनुसार इसाईजनको लाशलाई गाड्नुपर्छ । मण्डली ठूलो (धेरै विश्वासी भएको) हुँदैमा सहि र सानो (संख्यामा) हुँदैमा गलत हुँदैन । विश्वासीलाई सहज अवस्थामा मृत्यु संस्कार गर्दा जलाइनु हुँदैन । यो सनातनी धर्मको अनुशरण हो । हिन्दु मुल्यमान्यतालाई निरन्तरता दिएको हो । यो गलत छ । इसाईले त्यस्तो गल्ती गर्नु हुँदैन । यदि कसैको लाश मण्डली वा परिवारको पहुँचमा रहेन भने त्यसमा वादविवाद गर्नु पर्दैन । इसाई मतलाई कि स्वतन्त्र हो जसलाई जे गर्दा उचित लाग्छ त्यो छुट छ भन्नुपरो कि त साझा मुद्दामा साझा सहमति कायम गर्नुपरो । जन्म, विवाह र मृत्यु संस्कारलाई ख्रिष्टमस, पुनरुत्थान दिवस, क्यारोल जस्ता कुरासँग जोड्नु त्यति व्यवहारिक हुँदैन । किनभने बाइबललाई हामीले आफ्नो अनुकुलतामा प्रचार गर्ने होइन र हुबहु भन्नाले ठाउँ, नाम, पात्र, परिस्थिति पनि त्यहि हुनपर्छ भनेर जडतासुत्रवादी हुने पनि होइन तर त्यसको सार शिक्षालाई हामीले बंग्याउनु हुन्न । पावल प्रेरित वा अन्य कुनै पनि पात्रले कसरी व्यवहारे गरे त्यो महत्वपूर्ण कुरा हो नकी के गरे भन्ने होइन । म यो कुरामा विश्वास गर्दछु की मानिस जन्मेपछि मर्नु आवश्यक छ र मृत्यु हुँदा उसको शरीर मात्र मर्छ आत्मा मर्दैन, आत्माको फैसला त केवल प्रभुले न्यायको दिनमा गर्नुहुन्छ । दाहसंस्कार भनेको मरेको मान्छेका लागि होइन र यो मुक्तिको सवालमा जोड्नु आवश्यकता छैन तर जिउँदाहरुको आस्था, अभ्यास र भावनासँग जोडिएको कुरा भएकोले हामीले एउटा असल सेवकको दाहसंस्कार गर्दा मर्यादित, इज्जतपूर्वक र राम्रो सन्देश जाने प्रकारले गर्नुपर्छ जुन जिउँदाहरुले देखेर प्रभावित होउन र प्रभुमा आउन सकुन ।

बाइबल भनेको धर्म विधि होइन । हिन्दुहरुको धर्मग्रन्ध वेद हो । तर धर्म विधिका पुस्तकहरु धेरै छन् र सोही अनुसार कर्म गछन् । हामीले बाइबलीय सिद्धान्त वा त्यसको सार शिक्षालाई हेर्ने हो र सोही अनुसार कर्म गर्ने हो । अर्थात् विश्वास अनुसारको काम । कसैले कसैलाई जलाएकोमा आपत्ति जनाएको छैन र आपत्ति जनाउने हक पनि छैन । तर बाइबलीय सिद्धान्त र अभ्यासको विषयमा इसाईहरुको बुझाई एउटै हुनुपर्छ । नेपालमा इसाई १ प्रतिशत पनि छैनन् । नेपालमा अनि ८१ प्रतिशत मानिसहरु त प्राय सबैलाई जलाइन्छ त्यसमा उनीहरुको आस्था र विश्वासमा भर पर्ने कुरा हो । यसअघि जतिखेर मण्डलीका पाष्टरहरुले राजनीतिक दल खोलेर हिडे, कसैले कुनै राजनीतिक पार्टीमा लाग्छ भने उसको स्वतन्त्रता हो तर मण्डलीकै पाष्टरले दल खोल्नु हुन्न भन्दा पनि बहुसंख्यक मानिसहरु मतमतान्तरमा लागे । आज देखिन्दैछ त त्यसको असर इसाई समुदायमा कति परिरहेको छ भन्ने कुरा । यो बाइलीय सत्य कुरा हो कि अन्त्यको दिनमा सबै प्रकारका पदार्थ (माटो, पानी) ले सबै मानिसलाई फिर्ता दिनुपर्छ तर यो होइन कि हामीले दाहसंस्कार गरे पनि हुन्छ या नगरे पनि हुन्छ भनेर हेलचेक्राई गर्ने हो भने हामी कस्तो समाज निर्माण गर्दैछौं भन्ने हो । अहिलेको नेपाली समाजमा इसाईहरु भनेको सरकारी तथ्यांकका आधारमा करिब ४ लाख छन् । त्यसैले समाजका अन्य ९९ प्रतिशत मानिसहरुले इसाईहरुले के गर्छन् भनेर हेरिरहेका छन् । यो आत्मिक गहिराई र त्यसको कारण भन्दा पनि गवाही हो । इसाईहरुले समाजमा गवाही दिने भनेको धर्मशास्त्रीय मुल्य मान्यतामा आधारित हुनुपर्छ । जुन कुराबाट प्रभावित भएर मानिसहरु परमेश्वरमा आउने हुनुपर्छ तर हाम्रै जस्तो त रहेछ नि भनेर सम्झौता गर्दै जाने हो भने भोलीका दिनमा धर्म परिवर्तन गर्नेको संख्या त बढ्ला तर वास्तविक जीवन परिवर्तन गर्ने असल इसाईहरु पाउन गाह्रो हुने देखिन्छ ।

प्रभुले सबै कुरा जान्नुहुन्छ भनेर हामी प्रभुका सेवकहरुले आफ्नो जीवन पद्धति र अनुशासनलाई हेलचेक्राई गर्नुहुन्न । प्रभुले दिनुभएको ज्ञान, शिक्षा र सिपलाई प्रयोग गर्दै उहाँको महिमाका लागि मानिसहरुलाई तयारी गर्नु हाम्रो कर्तव्य हो । हामीले हाम्रो विचार, भावना वा मत जाहेर गर्दा बाइबलीय तर्क, बाइबलीय सिद्धान्तलाई भुल्नु हुँदैन । बाइबलमा आदेश छैन भनेर मनमर्जी गर्ने होइन । घटनाको सारले दिएको शिक्षालाई ग्रहण गर्नुपर्छ । बाइबल विधिहरुको पुस्तक होइन, जीवनको पुस्तक हो । कोहि कोहि अचानक दुर्घटनामा परेर शरीर जल्छ भने त्यो परमेश्वर जान्नुहुन्छ । कोहिलाई पानीले बगाउछ भने त्यो पनि परमेश्वर जानुहुन्छ । त्यसैकारण दुर्घटनाका विषयमा, महामारीले सताएर, द्वन्द्वमा परेर मण्डली तथा परिवारको पहुँचभन्दा बाहिर भएको शवको अवस्थामा बहस गर्न आवश्यकता छैन तर मण्डलीले गर्ने सहज अवस्थाको दाहसंस्कार विधिमा इसाईहरुले जलाउनु हुँदैन, दफन (गाड्नु) नै असल हुन्छ ।

(हेर्नुहोस् बाइबलका निम्न खण्डहरु जसले गाड्नुपर्ने स्पष्ट सन्देश दिएका छन् (उत्पत्ति ३ः१९, २३ः१९, २५ः९, ३५ः१९, व्यवस्था ३४ः६, २ इतिहास १६ः१४, मत्ती २७ः५९–६०) अनि हेर्नुहोस् जलाईका घटनाहरु जहाँ आत्महत्या, पाप, द्धन्द्ध र दण्डमा मारिएकाहरु (यहोशू ७ः२५, १ शमूएल ३१ः११, २ राजा २३ः२०, आमोस २ः१–२) अनि अन्तिममा प्रकाश २० अध्यायको ११ देखि १५ पदसम्म पढ्न नभुल्नुहोस्, अग्नि (आगो) कस्तो हो र आगोले जलाएको शरीर के हुन्छ भनेर थाह पाउनु हुनेछ ।)

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button