सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा २३ अर्ब ८२ करोड हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।

मोतीराम चैाधरी / शंकर दत्त भट्ट धनगढी, १९ जेठ 

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा २३ अर्ब ८२ करोड हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेटका विविध पक्षको तयारी पूरा गरेको जनाएको छ ।

संघीय सरकारको बजेट अध्ययन गरेर २८ अर्बसम्म पुग्न सक्ने मन्त्रालयका उच्च अधिकारीहरूको आकलन छ । ‘बजेटको सैद्धान्तिक पक्ष, मन्त्रालय तहको नीति तथा योजना र कार्यक्रम तयार भइसकेको छ,’ प्रदेश सरकारका अर्थ सचिव झलकराम अधिकारीले भने, ‘विनियोजन विधेयक, आर्थिक ऐन र मध्यकालीन खर्चको संरचना पनि तयार भइसकेको छ ।’

बजेट पपुलिस्ट र महत्त्वाकांक्षी नहुने मन्त्री प्रकाशबहादुर शाहको दाबी छ । बजेटको प्राथमिकता उत्पादनमुखी, कोभिड महामारी नियन्त्रण केन्द्रित, बहुवर्षीय आयोजनाको निरन्तरता र संरक्षण तथा रोजगारमुखी हुने उनको भनाइ छ ।

कुल बजेट रकममा केही तलमाथि हुन सक्ने देखिन्छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारको बजेट ३३ अर्ब हाराहारी थियो । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन जेठ २१ मा सुरु हुँदै छ ।

बजेट अधिवेशनअघि गत साता प्रदेश मन्त्रिमण्डल हेरफेर भएको छ । एमाले विभाजनको संघारमा पुगेको अवस्थाले प्रदेश सरकारको भविष्य पनि धरमर हुन पुगेको छ ।

एमालेका माधव नेपाल पक्षका सांसदहरूको बाहुल्य रहेका कारण तत्काललाई प्रधानमन्त्री ओली पक्ष कमजोर भएकाले मुख्यमन्त्रीमा माओवादी केन्द्रका त्रिलोचन भट्ट कायमै छन् ।

पुनर्गठित मन्त्रिमण्डलको दोस्रो वरीयतामा रहेका एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह आन्तरिक मामिला मन्त्रालयबाट आर्थिक मन्त्रालयको जिम्मेवारीमा पुगेका छन् ।

बजेट अधिवेशनपूर्व तत्कालको खड्गो टार्न सफल भट्ट सरकार ढुक्क भएर बजेट अधिवेशनको तयारीमा जुटेको छ । तर, अधिवेशन सुरु भएपछि सत्तापक्षकै असन्तुष्ट सांसद र प्रतिपक्षी दल कसरी बैठकमा पेस हुन्छन् भन्ने कुराले बजेट पारित हुने कुरा निर्धारण गर्नेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button