सुदूरपश्चिममा गौरा पर्व सुरु

भुवन भट्ट /धनगढी

११ भदौ, धनगढी । सुुदूरपश्चिम प्रदेशमा आज शुक्रबारदेखि गौरा पर्व सुरु भएको छ ।

गौरा पर्वको पहिलो दिन आज पञ्चमी परेको छ । आजका दिन महिलाहरुले बिहानै स्नान गरी घर घरमा बिरुडा राख्ने गर्दछन् । घरको एक कोठामा गाईको गोबरले लिपेर तामा-पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाइ टीका र अक्षताले सिङ्गारेर धुप-बत्ती बालेर पञ्च अन्न गहुँ, मास, गहत, गोरस र कलौ भिजाएर राखेर भगवन महेश्वरको आहृवान गर्ने कार्यलाई बिरुडा भन्ने गरिन्छ ।

आजको दिन महिलाहरुले माङ्गलिक गीतहरु गाउँदै गाउँका पँधेरो, खोला, नदीको मुहानमा बिरुडा भिजाउँछन् भने पञ्च वनस्पति (धान, साँउ, तिल, बेल र पाती)को पुत्ला बनाएर पँधेरामा राखी पूजा गर्ने र बिरुडा लिएर मंगल गीत गाउँदै घरमा ल्याएर राख्छन् । विवाहित महिलाले गौरा पर्वमा बर्त बसी कण्ठ सूत्र धारणा गर्नुपर्ने र पुरुष सरह गायत्री जप गरी भोजन ग्रहण गर्ने परम्परा रहेको छ । सप्तमीका दिन महिलाले दिनभरि व्रत बसेर आफ्नो परिवारको सुख, समृद्धि र चिरायूको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गर्ने चलन छ । सात गाँठो पारिएको दुर्वासहितको कण्ठ सूत्र (दुवधागो) पञ्चगव्य अभिषेक गरी गौराको खुटृामा राख्ने गरिन्छ ।

अष्टमीका दिन रङ्गीचङ्गी कपडामा सजिएका महिलाले गौरा राख्ने ठाउँमा पञ्च वनस्पतिले बनाइएको गौराको प्रतीमालाई रेशमी कपडाले सिङ्गारेर महेश्वरको प्रतीमासँगै बाहिर ल्याएर आसनमा राखी आठ अध्याय र आठ खण्ड भएको अठेबालीमा गौरा र महेश्वरलाई शिरमा राखेर नाँच्ने गर्दछन् । गौराका अवसरमा देउडा र ठाडो खेल खेलेर रमाइलो गरिन्छ । गौराको प्रसादका रूपमा बिरुडा आफन्तलाई प्रसादका रूपमा बाँडिने र भोलिपल्ट गौरा खेल्ने खेलाउनुका साथै देउडा गीत गाएर रमाइलो गर्ने गरिन्छ । गौरा पर्वमा नयाँ कपडा लगाउनाका साथै सेल, पुरी र चामलको पिठोबाट बनेको माणा, खीर, मालपुवा, बटुकजस्ता शाकाहारी पकवान खाने चलन रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button