पत्रकार महासंघ दक्षिण कोरिया शाखाको आठौँ अधिवेशनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु

पत्रकार महासंघ दक्षिण कोरिया शाखाको आठौँ अधिवेशनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको आठौँ अधिवेशनलाई लक्षित गर्दै शाखाको आगामी कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा प्रारम्भ गरिएको छ। अधिवेशन प्रयोजनार्थ गठित निर्वाचन समितिले निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया अघि बढाइएको जानकारी सार्वजनिक गरेको हो।

नेपाल पत्रकार महासंघको केन्द्रीय विधान २०६० (पाँचौँ संशोधन २०७५) तथा शाखा निर्वाचन कार्यविधि २०७७ मा व्यवस्था भएअनुसार मिति २०२५ डिसेम्बर १४ मा सम्पन्न शाखा कार्यसमिति बैठकको निर्णयअनुसार निर्वाचन समिति गठन भएसँगै प्रक्रिया औपचारिक रूपमा अगाडि बढाइएको समितिले जनाएको छ।

गठित निर्वाचन समितिको संयोजकमा कोरिया शाखाका पूर्व अध्यक्ष अशोक प्रसाद मैनाली रहनु भएको छ भने सदस्यका रूपमा शाखाका राष्ट्रिय परिषद् सदस्य डा. किशोर कोइराला तथा विनोद पौडेल रहनु भएको छ। समितिले जिम्मेवारी सम्हालेसँगै निर्वाचनलाई पूर्ण रूपमा निष्पक्ष, स्वतन्त्र, पारदर्शी र मर्यादित ढंगले सम्पन्न गराउने दृढ प्रतिबद्धता व्यक्त गरेको छ।

निर्वाचन समितिका अनुसार आगामी चरणमा मतदाता नामावली प्रकाशन, विस्तृत निर्वाचन कार्यतालिका सार्वजनिक, उम्मेदवारी दर्ता, मतदान प्रक्रिया तथा मतगणनासम्बन्धी सम्पूर्ण विवरणहरू चरणबद्ध रूपमा आधिकारिक सूचनामार्फत सार्वजनिक गरिनेछ।

यसैबीच, नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको आठौँ अधिवेशन सन् २०२६ जनवरी ११ तारिखका दिन दक्षिण कोरियाको राजधानी सौलमा आयोजना हुने तय भएको छ। उक्त अधिवेशनमा कोरियामा क्रियाशील सयौँ नेपाली पत्रकारहरू, महासंघका सदस्यहरू तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

आठौँ अधिवेशनलाई पत्रकारिता क्षेत्रको पेशागत सुदृढीकरण, संगठनात्मक एकता र लोकतान्त्रिक अभ्यासको सशक्त मञ्चका रूपमा सफलतापूर्वक सम्पन्न गर्ने लक्ष्यका साथ सम्पूर्ण तयारीहरू क्रमशः अघि बढाइएको निर्वाचन समितिले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button