आस्थाको समुदायका आदरणीय अगुवा तथा दाजुभाइ–दिदीबहिनीहरू हार्दिक अनुरोध

डा. बि. पी. खनाल

विनम्र अपील !!

मेरो आस्थाको समुदायका आदरणीय अगुवा तथा दाजुभाइ–दिदीबहिनीहरू,

न्यानो अभिवादन, शालोम!

अहिले हामी आम निर्वाचनको संघारमा प्रचारप्रसारमा निकै व्यस्त बन्दै गरेको सन्दर्भमा धेरै मित्रहरूबाट एउटा महत्त्वपूर्ण जिज्ञासा उठेको महसुस भएको छ— “प्रचण्ड नेतृत्वसँग म ‘बि.पी. खनाल’लाई संसदमा प्रतिनिधित्व सुनिश्चित गराउने भनेर लिखित समझदारी छ कि छैन?”

यस सन्दर्भमा म स्पष्ट भन्न चाहन्छु— हामीले जनजागरण पार्टी नेपाल र नेपाली कम्युनिष्ट पार्टीबीच एकीकरण गर्दा ११ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका छौँ, जसमा राजनीतिक व्यवस्था र पात्रको चरित्र सुधार, सामाजिक न्याय, समानुपातिक-समावेशी प्रतिनिधित्व, सुशासन र दीगो सर्वाङ्गीण विकासका शर्तहरू प्रमुखतासाथ सहमति गर्दै सम्माननीय द्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालज्यूसँग मैले हस्ताक्षर गरेको छु। उक्त समझदारीपत्रमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने विषयमा हामीबीच आपसी समझदारी र सद्भावपूर्ण भद्र सहमति भने प्रष्ट छ।

तथापि म स्पष्ट गर्न चाहन्छु— हाम्रो भरोसा त्यो शर्त, वाचा वा कागजमा मात्र होइन, हाम्रो आस्थाको समुदायको सक्रिय सहभागिता र साझा प्रतिबद्धतामाथि हो, किनभने हामीले यो काम हाम्रा अगुवाहरूकै सम्मति र प्रार्थनाकै निरन्तरताको रूपमा गरेका छौँ ।

यसैकारण, म व्यक्तिगतरूपमा एउटा ठूलो र साहसिक जिम्मेवारी स्वीकार गर्दैछु— स्वआस्थाको समुदाय (ख्रीष्टियन समुदाय) बाट कम्तीमा ५ देखि ७ लाख मत संकलन गर्ने अभियानमा म र सबै साथीहरू सक्रिय बनेर लागिपरेका छौँ (भोट ⭐️ तारामा)

यसको उद्देश्य निर्वाचनमा केवल “मेरो” जीत हासिल गर्नु मात्र होइन, हाम्रो पक्षबाट उम्मेदवार बनेका पाँचैजना उमेदवारहरू संसदमा पुग्न सकून् भन्ने हो।

आजसम्मै ख्रीष्टियन समुदायले राष्ट्रिय राजनीतिक सन्दर्भमा यस्तो अवस्थामा बस्नुपरेको छ:

– चुपचाप “शक्तिशाली”हरूका कुरा सुन्ने तर बोल्न नपाउने!

– सबैलाई सहयोग गर्नुपर्ने तर निर्णय प्रक्रियामा सहभागी हुन नपाउने!

– कहिलेकाहीँ भीडको रूपमा गनिने तर प्रतिनिधित्वबाट बञ्चित हुनुपर्ने!

– आश्वासन पत्याउँदै बाँच्नुपर्ने तर सबैजसो नागरिक अधिकारबाट बहिष्कृत भएर बाँच्नुपर्ने!

– अतिवादीहरूले हामीमाथि आक्रमण गर्दा (सतावटको समयमा) उल्टै कानुनी विभेद र असुरक्षाको तारोमा नि:शब्द उभिइनुपर्ने!

– राष्ट्रद्रोही, भ्रष्ट-लुटेराहरू सम्मानित बनेर हिँडिरहेको बेला हामीले चाहिँ आफ्नो धार्मिक कर्तव्य पालन गर्दा पनि अपराधीसरह बाँच्नुपर्ने!

अब यो अन्यायी र विभेदकारी अवस्थाबाट हामीले बाहिर निस्कने समय आएको छ। त्यसकारण,

⭐️ यो चुनाव केवल पद, प्रतिष्ठा वा व्यक्तिगत राजनीतिक यात्राको विषय होइन। यो चुनाव मेरो आस्थाको समुदायको समुचित प्रतिनिधित्व, पहिचान र राष्ट्र निर्माणमा सक्रिय सहभागिताको ऐतिहासिक मोड हो।

⭐️ कृपया केवल “बि.पी. खनाल” भन्ने नाममा सीमित भएर नसोच्नुहोस्, बरू हाम्रो साझा लक्ष्य, पूर्ण धार्मिक स्वतन्त्रताका निम्ति हाम्रो आन्दोलन र राष्ट्रनिर्माणको लक्ष्यमा समर्पित हाम्रो दीर्घकालीन मिसन अभियानलाई केन्द्रमा राखेर सोचिदिनुहोस्!

हामी अहिले एउटा महत्वपूर्ण “mission-shift” को प्रयासलाई साकार बनाउन खोजिरहेका छौँ— जसमा हाम्रो आस्थाको समुदाय केवल धार्मिक गतिविधिमा मात्रै सीमित नरही राष्ट्रिय नीति निर्माण, उदाहरणीय राजनीतिक नेतृत्वको साक्षी, सुशासन, शान्ति, न्याय, धार्मिक स्वतन्त्रता र सामाजिक रूपान्तरणको अग्रपंक्तिमा उभिने यात्राको थालनी गरिएको छ।

हामी राजनीतिमा देखिएको भ्रष्ट चरित्रलाई परिवर्तन गर्न चाहन्छौँ, तर त्यसभन्दा पहिले राजनीतिमा नैतिकता, चरित्र, उत्तरदायित्व र सेवक-नेतृत्वको नमूनालाई प्रवेश गराउन चाहन्छौँ।

यस अभियानमा तपाईंको नैतिक समर्थन, प्रार्थना, सहयोग, सक्रिय सहभागिता र अभिमत (भोट) सबैभन्दा ठूलो शक्ति मानिने छ। अब आउँदो फागुण २१ (मार्च ५, २०२६) मा सम्पन्न हुने आम निर्वाचन हाम्रो समुदायका लागि केवल मतदान गर्न भनी तोकिएको मिति मात्रै होइन, बरू राष्ट्रनिर्माणमा हाम्रो उपस्थितिको घोषणा गर्ने दिन पनि हो।

यसैले, प्रार्थनामा निरन्तर रहनुहोस्, हाम्रो विषयमा स्पष्ट दृष्टिकोण बनाउनुहोस् र हामीले समर्पित भएर अघि बढाउँदै गरेको राष्ट्र रूपान्तरणको यस यात्रामा पूरा मनले साथ दिनुहोस्।

धन्यवाद।

डा. बि. पी. खनाल

केन्द्रीय संयोजन समिति सदस्य तथा समानुपातिकतर्फ उमेदवार

नेेकपा, काठमाडौं

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button